नेपालगन्ज हुँदै कैलाश दर्शन गर्न गए सद्गुरु

जनता संवाददाता
२०८० भाद्र २२ गते, शुक्रबार

काठमाडौँ । भारतीय सद्गुरु जग्गी बासुदेव कैलाश मानसरोवर दर्शन गर्न बुधबार हुम्ला पुगेका छन् । उनी काठमाडौंबाट चार्टर्ड विमानबाट मध्याह्न १२ बजे  नेपालगन्ज ओर्लिएर नेपालगन्जबाट हुम्ला हुँदै कैलाश दर्शन गर्न गएका हुन् ।

गत वर्ष पनि हुम्लाको लाप्चाबाट मानसरोवर कैलाश दर्शन गर्न उनी पोखराबाट सिमकोट पुगेका थिए । कैलाश मानसरोवर दर्शन गर्न विभिन्न देशका नागरिक हुम्ला पुग्ने गरेका छन् ।

पवित्र तीर्थस्थलका रूपमा परिचित कैलाश मानसरोवरमा सद्गुरु यो पटकसहित चार पटक हुम्ला पुगेको व्यवसायीहरू बताउँछन् । सद्गुरुको कैलाश भ्रमणसँगै हुम्लामा पर्यटकहरूको घुइँचो लागेको छ ।

सद्गुरुका लागि सुरक्षा व्यवस्था कडा पारिएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ । सद्गुरु विश्वमै चर्चित अध्यात्मिक गुरुका रूपमा परिचित छन् ।

प्रकाशित मिति : २०८० भाद्र २२ गते, शुक्रबार


Scroll to Top

Janata Media