काठमाडौं । एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधि सभाको पूर्णकाल सञ्चालन गर्नुपर्नेमा जोड दिएका छन् ।
आज प्रधानमन्त्रीले विश्वासको मत लिने प्रयोजनका लागि बसेको संसद बैठकलाई सम्बोधन गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलेको कुराप्रति कटाक्ष गर्दै प्रधानमन्त्रीमा संसद विघटन गर्ने अधिकार नभएको स्पष्ट पारे ।
‘प्रधानमन्त्रीले जथाभाबी प्रतिनिधि सभा विघटन गर्न पाउनुहुन्न ।’ उनले भने, ‘प्रधानमन्त्रीलाई संसद विघटनको अधिकार हाम्रो संविधानले दिएको छैन । सर्वोच्च अदालतले पनि त्यो कुराको व्याख्या गरेको छ ।’ एकपटक प्रतिनिधि सभा विघटन गरेका एमाले अध्यक्ष ओलीमा अझै पनि चेत नआएको भन्दै कटाक्ष गरे ।
ओलीले सोमबार र मंगलबार बसेको बैठकमा प्रतिनिधिसभा विघटन गर्नु प्रतिगमन नभएको जिकिर गरेका थिए । त्यस्तै अघिदेखिबाटै नेपालमा प्रतिनिधिसभा विघटन भइरहेको भन्दै ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले पनि संसद विघटन गरेको उदाहरण दिँदै विघटन प्रतिगमन नभएको दाबी गरेका थिए ।
यता नेता नेपालले अहिले पहिलेको जस्तो अवस्था नभएको भन्दै विघटन प्रतिगमन भएको बताएका थिए ।
सरकारमा सामेल दलका नेताले संसद विघटन सही भएको भन्दै गरेको भाषण वर्तमान गठबन्धनकै हो की भन्दै प्रश्न समेत गरेका छन् ।
प्रधानमन्त्रीलाई विश्वासको मत दिने उद्घोषसहित सुझाव दिएका थिए ।