काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् पूर्वमन्त्री जितेन्दनारायण देवले कैद भुक्तान गरिरहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौंधरीलगायतलाई तत्काल रिहाई गर्न सरकारलाई दवाब दिएका छन् ।
शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले टिकापुर घटना राजनीतिक घटना भएकाले पनि रेशम चौंधरीलगायतका बन्दीहरुलाई तत्काल रिहाई गरेर सरकारले न्याय दिनुपर्ने तर्क गरे । उनले मुलुकको राजनीतिक आन्दोलनमा धेरै मान्छेहरु मारिए पनि उनीहरुले न्याय पाएको तर टिकापुर घटनामा परेकाहरुले भने न्याय नपाएको भन्दै आक्रोश समेत व्यक्त गरे । सांसद देवले भने, ‘यो मुलुकमा धेरै ठूल्ठूला आन्दोलनहरु भए । ठूल्ठूला आन्दोलनको नेतृत्व कहिले नेपाली काँग्रेसले ग¥यो, कहिले माओवादीले ग¥यो । यो देशमा मधेश आन्दोलन भयो । यो देशमा थारु आन्दोलन भयो । यो देशमा पहिचानका आन्दोलनहरु भए । यो देशमा समानताका आन्दोलनहरु भए । हरेक आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । स्वतस्फूर्त आन्दोलनहरुमा मान्छेहरु मारिएका छन । तर हरेक बेलामा यहाँ न्याय भएको छ । राजनीतिक आन्दोलनलाई अपराधिक आन्दोलन भनिएन । त्यसकारण थारुहरुले गरेको आन्दोलन कैलालीमा भएको आन्दोलन थारुहरुले गरेको आन्दोलन राजनीतिक आन्दोलन थियो । अन्याय भएको छ–रेशम चौंधरीमाथि । अन्याय भएको छ थारुहरुमाथि । त्यसलाई करेक्शन गर्नु पर्दछ भनेर म माग गर्न चाहन्छु ।’
सांसद देवले संविधानको रक्षा गर्नका लागि कांग्रेसले सरकारलाई विश्वासको मत दिनु परेको स्पष्टिकरण समेत दिए। उनले संविधानको रक्षा गर्दै सुशासन, विकास, भ्रष्टाचार नियन्त्रण र जनतामा सेवा प्रवाहको कामलाई सहज बनाउन नसके सरकारलाई दिएको समर्थन आफ्नो पार्टीले फिर्ता लिन सक्ने अडान समेत राखे।
सांसद देवले सरकारलाई भारत र चीन दुवै छिमेकी मुलुकसँग सुमधुर सम्बन्ध कायम गरेर अघि बढन सुझाव दिए ।
उनले भने, ‘अहिलेको मुख्य सवाल भनेको सुशासन, विकास र भ्रष्टाचारलाई नियन्त्रण गर्ने यो पाटोमा म शुभकामना दिन चाहन्छु अहिलेको सम्माननीय प्रधानमन्त्रीजीलाई । उहाँको कमाण्डमा यो सरकार छ । त्यसकारण अविचलित रुपमा उहाँले राजनीतिक भूमिका निर्वाह गर्दै यो सुशासनको सवालमा, विकासका सवालमा, भ्रष्टाचार नियन्त्रण गर्ने सवालमा र आम नेपाली जनतालाई सेवा प्रवाह दिने सवालमा निरन्तर रुपमा यो सरकार लागि रहोस् । त्यही मेरिटको आधारमा हामीले सहयोग गरिरहनेछौं । यदि त्यसमा खुट्टा कमायो, त्यसबाट विमुख भयो, राजनीतिक जिम्मेवारीबाट यो सरकार विमुख भयो भने भोलीको दिनमा नेपाली काँग्रेसले आफ्नो पोजिशनलाई रिभ्यू गर्नुपर्ने हुन सक्छ । तर हामी चाहन्छौं, नेपाली कांग्रेस लामो समय प्रचण्डजीसँग मिलेर काम गरेको सन्दर्भमा हामी चाहन्छौं प्रचण्डजी प्रचण्ड रहेर यो कामहरुलाई छिनोफानो गर्नुुहुन्छ । यो एजेण्डाहरुलाई सम्बोधन गर्ने काम गर्नु हुन्छ । काँग्रेस नेतृत्वको सरकारले दुवै छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध अगाडि बढाएको थियो । त्यसलाई यो सरकारले कायम राख्नु पर्दछ । दुवै छिमेकी मुलुक कसैले पनि आशंका पाल्नुपर्ने वा कसैले हौसिनुपर्ने अवस्था नहोस् । दुवैसँग अत्यन्त सुमधुर सम्बन्ध राखेर, दुवैको सहयोग प्राप्त गरेर नेपालको विकास र समृद्धिको बाटोमा यो सरकार अगाडि बढोस् भन्ने हामी चाहन्छौं ।’
सांसद देवले सरकारले कुनै छिमेकीसँग हौसिने र कुनै छिमेकीसँग आशंका पालेर अघि बढन नहुने धारणा समेत राखे ।