काठमाडौं । नेपालगन्ज नाकाबाट चालु आर्थिक वर्षको सुरुमै रिठ्ठा, तार्पिन तेल, खोटो रोेजिनको निर्यात बढेको छ ।
नेपालगन्ज भन्सार कार्यालयले दिएको जानकारी अनुसार विभिन्न जडिबुटी र वनस्पतिको निर्यातका लागि प्रमुख नाका मानिने नेपालगन्जबाट यो आर्थिक वर्षको सुरुमै यिनको निर्यातमा उल्लेख्य वृद्धि भएको हो ।
नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले गत आर्थिक वर्ष २०८०र०८१ को साउन भदौको तुलनामा चालु आर्थिक वर्षको साउन र भदौमा रिठ्ठाको निर्यातमा ३३० प्रतिशत, तार्पिनको तेलमा २७४ प्रतिशत, ऐसेन्सियल तेलमा २९३ प्रतिशत र खोटो रोजिनको निर्यातमा १४० प्रतिशत वृद्धि भएको बताए ।
आर्थिक वर्षको सुरुमै उपरोक्त वस्तुको निर्यातमा उत्साहजनक रुपमा वृद्धि भएपछि नेपालगन्ज लगायत पश्चिम नेपालका जडिबुटी व्यवसायी निकै उत्साहित भएको नेपालगन्ज भन्सार कार्यालयले जनाएको छ ।
सो कार्यालयले दिएको तथ्यांक अनुसार गत आर्थिक वर्षको सुरुको दुई महिनामा यो नाकाबाट १२ लाख २० हजार रुपियाँको १६ हजार किलो रिठ्ठा निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ५२ लाख ४९ हजार रुपियाँको ७६ हजार ७० किलो रिठ्ठा निर्यात भएको छ ।
यसैगरी गत वर्ष दुई महिनामा यो नाकाबाट ९५ लाख ७८ हजार रुपियाँको ६४ हजार लिटर तार्पिनको तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ५८ लाख ३४ हजार रुपियाँको दुई लाख १५ हजार लिटर तार्पिनको तेल निर्यात भएको छ ।
सोही प्रकारले गत वर्ष साउन र भदौमा ८५ लाख ४० हजार रुपियाँको २६६ लिटर ऐसेन्सियल तेल निर्यात भएकोमा यस वर्षको सोही अवधिमा तीन करोड ३४ लाख ७४ हजार रुपियाँको एक हजार ५८ लिटर ऐसेन्सियल तेल निर्यात भएको छ ।
यस्तै गत वर्ष सुरुको दुई महिनामा नेपालगन्ज नाकाबाट चार करोड ७६ लाख ७० हजार रुपियाँको तीन लाख ३८ हजार ५७७ किलो खोटो रोजिन निर्यात भएकोमा यस वर्षको सोही अवधिमा ११ करोड ४४ लाख ९३ हजार रुपियाँको सात लाख ८४ हजार चार सय किलो खोटो रोजिन निर्यात भएको छ ।
चालु आर्थिक वर्षको सुरुमै केही वस्तुको निर्यातमा अत्यधिक वृद्धि देखिएपछि यहाँका जडिबुटी व्यवसायी यस पटक ठुलो परिमाणमा विभिन्न वस्तु निर्यात हुनेमा आशावादी देखिएका छन् ।







