कर्णवीर सार्की, बाजुरा । बाजुराको हिमाली गाउँपालिकाले ११ औं हिउँदे गाउँसभा सम्पन्न गरेको छ । गाउँसभाले आ.व. ०७९/०८० का लागि बजेट संसोधन तथा विभिन्न ४ ओटा ऐन तथा कानुन पारित गरेको छ ।
गाउँपालिकाका अध्यक्ष गोविन्द बहादुर मल्लको सभाध्यक्षमा, उपाध्यक्ष राजकला सार्कीको उपाध्यक्षतामा, १ देखि ७ वडा सम्मका वडाध्यक्ष, कार्यपालिकाका सदस्य, सम्पूर्ण जाप्रतिनिधहरु, गाउँपालिका अन्तर्गतका कर्मचारीहरु र जनताहरुको उपस्थितिमा कार्यक्रम सम्पन्न गरिएको हो । “स्वास्थ्य, शिक्षा कृषि, जडीबुटी, पर्यटन, जलस्रोत र पुर्वाधार, दिर्घकालिन दृष्टिकोण सुशासन र गरिबी निवारण समृद्ध हिमालीको आधार” भन्ने मुल नाराका साथ गाउँ सभा सम्पन्न भएको हो ।
कार्यक्रमका सभाध्यक्ष एवम् गाउँपालिकाका अध्यक्ष मल्लले विभिन्न खालका ४ ओटा ऐन तथा कानुन पारितका लागि सभामा प्रस्ताव पेस गरेका थिए । जस अन्तर्गत हिमाली गाउँपालिकाको सार्बजनिक खरिद निमावली २०७९, अनुगमन तथा सुपरिवेक्षण समितिको कार्य संचालन कार्यविधि २०७९, सुरक्षीत खानेपानी युक्त समुदाय घोषणा निर्देशिका कार्यविधि २०७९ र गाउँपालिकासँग सम्बन्धित अन्य प्रस्ताव अध्यक्ष मल्लले पेस गरे । उक्त प्रस्तावमा छलफल गर्दा गाउँ सभामार्फत सर्व सम्मत पारित भए ।
अध्यक्ष मल्लले गाउँपालिकाले शिक्षा, स्वास्थ्य,खानेपानी, भौतिक पूर्वाधार, विपद व्यवस्थापन, संस्थागत विकास जस्ता क्षेत्रमा अपुग हुने बजेटलाई संशोधन गरिएको बताए ।
गाउँपालिका उपाध्यक्ष राजकला सार्कीले सभाले पारित गरेका ऐन गाउँपालिकाको राजपत्रमा प्रकाशन गरेर तत्काल कार्यान्वयनमा ल्याउने बताइन् ।