
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री प्रचण्डले भने पश्चिमी संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्न थालेको भन्दै चिन्ता ब्यक्त गरेका छन् ।
२८५९ औँ तामाङ ल्होसारको उपलक्ष्यमा काठमाडौंको टुंडिखेलमा आयोजित सोनाम ल्होसार समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्रीले सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नपनि आह्वान गरे । विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्दा नेपालका धेरै संस्कृति लोप भएको पनि बताए । उनले मानव सभ्यता नै मर्दै गरेको पनि उल्लेख गरे ।
सभ्यता र संस्कृतिमा नेपाल विश्वमै वैभवशाली भएको भन्दै प्रधानमन्त्रीले भने, ‘नेपाल पूर्व, पश्चिम, उत्तर, दक्षिणका प्रमुख सभ्यताहरूको संगमस्थल हो। यहाँ १२५ जातजाति, १२३ भाषाभाषी र १० भन्दा बढी धर्म मान्ने समुदाय बसोबास गर्दछन्’ प्रधानमन्त्रीले भने, ‘यहाँ बसोबास गर्ने सबै जातिरजातजातिको आ—आफ्नो भिन्नभिन्न परम्परा, रीतिरिवाज र संस्कृतिहरू रहेका छन् । यी सबै संस्कृतिहरूको समग्रता र एकीकृत स्वरुप नै नेपालको राष्ट्रिय संस्कृति हो। यसरी हाम्रो देश बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक हुनु नै नेपाल र नेपालीको लागि गौरवको कुरा हो, यो हाम्रो राष्ट्रिय सम्पत्तिसमेत हो।’
विगतमा सामन्ती, एकात्मक र अधिनायकवादी शासनबाट नेपालभित्रै रहेका जातजाती, भाषा र संस्कृतिमाथि दमन भएको भन्दै उनले सामन्ती एकात्मकताको हस्तक्षेपविरुद्धको लडाइँ अझैं जारी रहेको उल्लेख गरे ।
प्रधानमन्त्री प्रचण्डले भने, ‘ल्होछार पर्व केबल तामाङको मात्र पर्व होइन, यो राष्ट्रिय र अन्तर्राष्ट्रिय पर्व पनि हो। नेपालमा यस्ता ऐतिहासिक एबम् बैज्ञानिक महत्व बोकेको थुप्रै पर्व छन्। तर विगतको सामन्ती राज्यले एउटालाई काखा र अरुलाई पाखा गर्नाले नेपालका धेरै संस्कृतिहरु लोप भएर जादैँछन्। मानव सभ्यता मर्दैछ। अर्कातिर पाश्चात्य संस्कृतिले राष्ट्रिय संस्कृतिलाई विस्थापन गर्दैछ। यो परिप्रेक्ष्यमा राज्यले ती सबै राष्ट्रिय संस्कृतिको प्रवर्धन गर्नुपर्छ भन्ने मेरो मान्यता छ।’