पार्टीबाट विद्रोह गदैँ पालिका अध्यक्ष जितेका शाही पुन: काँग्रेस प्रवेश

जनता संवाददाता
२०७९ माघ ९ गते, सोमबार

सुर्खेत । हुम्लाको चंखेली गाउँपालिकाका अध्यक्ष प्यारीलाल शाही नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । २०७९ बैशाखमा भएको निर्वाचनमा उनी गठबन्धनलाई पराजित गरेर गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार बनेर निर्वाचित भएका थिए । गाउँपालिका अध्यक्ष शाहीलाई शनिबार वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय कार्यसम्पादन समितिका सदस्य एवम् केन्द्रीय सदस्य जीवनबहादुर शाहीले पार्टी प्रवेश गराए ।

कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य शाहीले हुम्लामा कांग्रेस मजबुत रहेको बताउँदै अझ पार्टीलाई सुदृढ गर्दै जानुपर्ने बताए । उनले कांग्रेस पार्टीमा शाहीको भूमिका महत्वपूर्ण भएको बताउँदै आगामी दिनमा अझ सक्रिय भएर लाग्न आग्रह गरे ।

कांग्रेस केन्द्रीय सदस्य शाहीले राम्रो काम गर्दा पार्टी कार्यकर्ता र जनताले मूल्यांकन गर्ने बताए । ‘जनतासँग नजिक भएकै कारण तपाईंले स्वतन्त्र उम्मेदवारी दिएर पनि बिजयी हुनु भएको हो,’ उनले भने, ‘अब संगठन निर्माणमा पनि सोही अनुसार लाग्नुहोला ।’

पार्टी प्रवेश गर्दै शाहीले नेपाली कांग्रेसलाई मजबुत बनाउन लागिपर्ने बताए । उनले पार्टीको विधि, विधान र अनुशासनमा रहेर काम गर्ने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस हुम्लाका सभापति मोहनबिक्रम सिंह, जिल्ला सचिव एवम् कर्णाली प्रदेशसभा सदस्य विजया बुढालगायतको सहभागीता रहेको थियो ।

प्रकाशित मिति : २०७९ माघ ९ गते, सोमबार


करार सेवा परिपूर्ति सम्बन्धि हिमाली गाउँपालिका, बाजुराको सूचना
Scroll to Top

Janata Media