सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योगको मान्यता दिइनेछ – प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०७९ माघ १७ गते, मंगलवार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चारमाध्यमलाई राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिई संरक्षण र संवद्र्धन गर्ने सरकारको नीति रहेको बताएका छन् ।

मंगलवार नेपाल टेलिभिजनको ३८औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले सञ्चारमाध्यमको व्यवसायिक र संस्थागत विकासका लागि राष्ट्रिय सेवामुलक उद्योग सरह मान्यता दिने नीति रहेको स्पष्ट पारे । सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक र प्रेस स्वतन्त्रताको ग्यारेन्टी गर्न प्रतिवद्ध रहेको उनको भनाइ थियो ।

‘वर्तमान सरकार विचार तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक एवं प्रेस स्वतन्त्रताको पूर्ण ग्यारेन्टी गर्ने गरी आवश्यक संरचना र पूर्वाधार निर्माण गर्नुका साथै कानूनी र व्यवहारिक सुनिश्चितता गर्न प्रतिवद्ध छ,’ प्रधानमन्त्रीले भने । उनले सरकार आमसञ्चार प्रशिक्षण प्रतिष्ठान स्थापना गर्न प्रतिवद्ध रहेको बताउँदै पत्रकारहरुको स्वास्थ्य तथा दुर्घटना बीमाको व्यवस्था गरिने प्रतिबद्धता गरे ।

प्रकाशित मिति : २०७९ माघ १७ गते, मंगलवार


Scroll to Top

Janata Media