पद छाड्नुपर्ने दबाबमा शीर्ष नेता, रास्वपामा पनि रविले मार्ग प्रशस्त गर्नुपर्ने माग

जनता संवाददाता
२०८२ आश्विन ८ गते, बुधबार

काठमाडौँ । नेपाली कांग्रेसका नेताहरूले विशेष महाधिवेशन माग राख्दै हस्ताक्षर अभियान प्रारम्भ गरेका छन् । कांग्रेस नेताहरूले हस्ताक्षर अभियान प्रारम्भ गर्दै इतिहासको संवेदनशील घडीमा पार्टीलाई वर्तमान दुरावस्थाबाट निकाल्न विशेष महाधिवेशन प्रक्रिया अघि बढाउनुपर्ने माग गरेका हुन् ।

कांग्रेसका १०९ जना नेताले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टीलाई समयसापेक्ष, लोकप्रिय, प्रभावकारी र सुदृढ तुल्याउन आवश्यक रहेको जिम्मेवारीबोध गरी पार्टी विधानको धारा १७ ९२० बमोजिम विशेष महाधिवेशन प्रक्रिया थाल्न आग्रह गरेका हुन् । विज्ञप्तिमा भनिएको छ, “पार्टीलाई यथास्थितिमा राख्ने कि अग्रगमनतर्फ लैजाने आजको मूल प्रश्न यही हो । विषम परिस्थिति र सङ्कटबाट नेपाली कांग्रेसलाई मुक्त गर्न वर्तमान केन्द्रीय समिति मात्र होइन, हाम्रो पनि उत्तिकै दायित्व हो ।”

विज्ञप्तिमा पार्टीको अवस्था र नेतृत्वमाथि उठेका विभिन्न प्रश्न निरूपण गर्दै आगामी बाटो तय गर्न विशेष महाधिवेशन आवश्यकता महसुस गरिएको प्रस्ट पारिएको छ । विज्ञप्तिमा भनिएको छ, “वर्तमान परिस्थितिको गम्भीरता बोध गरी केन्द्रीय समितिको क्षेत्राधिकारसमेत रहेको विशेष महाधिवेशन बोलाउने दायित्वलाई केन्द्रीय समितिले मनन गर्ने सम्भावना क्षीण बन्दै गएकाले हामी महाधिवेशन प्रतिनिधिमा रहेको वैधानिक अधिकार उपयोग गर्दै तयारीमा लाग्ने सङ्कल्प लिएका छौँ ।”

विज्ञप्तिमार्फत नेताहरूले भदौ २३ र २४ गते जेनजी पुस्ताको आह्वानमा भएको आन्दोलनमा सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जली र घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै घटनाको छानबिन गरी दोषीलाई कारबाही माग पनि गरिएको छ ।

विज्ञप्तिमा नेताहरू कोसी प्रदेशमा सभापतिमा पराजित गुरुराज घिमिरे, युवा नेता देवराज चालिसे, तारानाथ दाहाल, पूर्वसांसद रीता शाही, बिमला नेपाली, रुद्र कन्दङ्वालगायतले हस्ताक्षर गरेका छन् ।

यसअघि कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन प्रस्ताव गर्नुभएको थियो । तर बैठकमा उनीहरू अल्पमतमा परे ।

माओवादीमा श्रेष्ठको दाबी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिएर महाधिवेशनमा जानुपर्ने प्रस्ताव गरेका छन् । यसअघि बसेको माओवादी पदाधिकारी बैठकमा उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष तोक्नुपर्ने प्रस्ताव गरेका हुन् ।

उपमहासचिव गिरिराजमणि पोखरेलका अनुसार पदाधिकारी बैठकमा जेनजी विद्रोह र वर्तमान अवस्थाबारे लामो व्याख्या गर्दै श्रेष्ठले उक्त विद्रोहको शिक्षालाई ध्यान दिएर अध्यक्षले पनि यसबिचमा विभिन्न भिडियोमार्फत आफू नयाँ ढङ्गले जान तयार भएको बताएको उल्लेख गर्दै अध्यक्षकै सहमतिमा प्रणालीगत ढङ्गले आफूलाई कार्यवहाकको जिम्मेवारी दिनुपर्ने बताएका थिए ।

बैठकमा श्रेष्ठले पार्टीको अहिलेको कार्यभार चुनाव केन्द्रित हुनुपर्ने र चुनाव सकेपछि महाधिवेशनमा जानुपर्ने पनि बताएका थिए । उनले २०७८ को महाधिवेशनमा विचार संशलेषण हुन नसकेकाले पनि नयाँ अधिवेशनमा जानुपर्ने उल्लेख गर्दै अहिलेको यो छोटो समयमा छलफल गर्न नसकिने भएकाले चुनावपछि मात्र महाधिवेशनमा जानुपर्ने बताएका थिए । पोखरेलले भने, “महाधिवेशन र चुनावलाई सँगै जोडेर जाँदा पार्टीभित्र ‘आइडियो कल्चर’ का कारण एकताबद्ध अहिलेको विशिष्ट मोडमा सामना गर्न नसकिने भएकाले यसपछि अलि समय लिएर महाधिवेशन गर्न उपयुक्त हुन्छ । त्यसपछि सोपान व्रmममा आउने वरिष्ठै हुन्छ भन्ने कोणबाट कुरा राख्नुभएको हो, मलाई जनार्दनजीलगायतले समर्थन गरेको हो ।”

सचिव देवेन्द्र पौडेलले पनि पार्टी अध्यक्ष प्रचण्डलाई नेतृत्व छाडेर कार्यवहाक अध्यक्ष आफूलाई तोक्न वरिष्ठ उपाध्यक्ष श्रेष्ठले प्रस्ताव गरेको जानकारी दिए । उनले भने, “जेनजी आन्दोलनपछि पार्टीमा महाधिवेशनदेखि पार्टी नेतृत्वको विषयमा छलफल भइराखेको छ । बैठकमा वरिष्ठ उपाध्यक्षले आफूलाई कार्यवहाक अध्यक्ष दिन प्रस्ताव गर्नुभएको हो । यसबारेमा निर्णय केही भएको होइन । छलफलमा उठेको विषय मात्रै हो ।”

श्रेष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिन प्रस्ताव गरेपछि उपमहासचिव जनार्दन शर्माले समर्थन गर्नुभएको पार्टीका सचिव मातृका यादवले जानकारी दिए । शर्माले करिब एक वर्षयता निरन्तर नेतृत्वमाथि प्रश्न उठाउँदै आएका छन् । “पार्टी नेतृत्व उमेर र व्यक्तिगत इच्छाले गर्ने कुरा होइन । आन्दोलनको भट्टीबाट खारिएर आएको नेताले विचारद्वारा नेतृत्व गर्ने हो,” उनले भने, “वरिष्ठले आफूलाई कार्यवहाक अध्यक्ष दिनुपर्ने प्रस्ताव गरेपछि जनार्दनजीले समर्थन जनाए । मैले त्यसको प्रतिवाद गरेर हामीलाई प्रचण्ड कमरेडबाहेक अरूले नेतृत्व गर्न सक्नुहुन्न भनेको हुँ ।” प्रचण्डबाहेक अहिले भएका कुनै पदाधिकारीले पार्टी नेतृत्व गर्न नसक्ने उनले ठोकुवा गरे । माओवादीको बुधबार बस्ने स्थायी समिति बैठकले महाधिवेशनबारे छलफल गरेपछि बिहीबार बस्ने केन्द्रीय समितिले निर्णय गर्ने बताइएको छ ।

जेनजी आन्दोलनको ‘साइड इफेक्ट’ झैँ देखिने गरी केही वर्षअघि मात्र स्थापना भएको राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० मा पनि नेतृत्व परिवर्तनको आवाज उठेको छ । अन्य राजनीतिक दललाई पुराना भन्दै आफूलाई ‘नयाँ’ का रूपमा परिभाषित गरिरहनुभएका रास्वपा सभापतिलाई उहाँभन्दा नयाँ पुस्ताको नेताले नेतृत्व छाड्न दबाब दिएका छन् । लामिछानेमाथि नेतृत्व छाड्न चौतर्फी दबाब आए पनि मङ्गलबार सम्पन्न केन्द्रीय कमिटी बैठकले भने यसबारे कुनै निर्णय गरेन ।

रास्वपा सुदूरपश्चिम प्रदेश समितिले केन्द्रीय समितिलाई पत्रै लेखेर सभापतिले नेतृत्व छाड्नुपर्ने सुझाव दिएको विवरण सार्वजनिक भएको छ । सभापति लामिछानेमाथि अदालतमा मुद्दा रहेको र पुर्पक्षका लागि कारागारमा रहेको अवस्थामा सभापति कायम रहँदा पार्टीको आन्तरिक शुद्धता र सार्वजनिक छविमा गम्भीर असर परिरहेको तर्क गरिएको छ । केन्द्रीय समिति बैठकमा लामिछानेको कारागारबाट भएको रिहाइ प्रव्रिmया र त्यसपछिको सार्वजनिक व्यवहारमाथि प्रश्न उठेको थियो ।

प्रकाशित मिति : २०८२ आश्विन ८ गते, बुधबार


Scroll to Top

Janata Media