नाग्म-गमगढी सडक कालोपत्र गरिने

जनता संवाददाता
२०७९ माघ २५ गते, बुधबार

मुगु । नेपालकै आकर्षक पर्यटकीय गन्तव्य राराताल जाने पर्यटकीय मार्ग नाग्म-गमगढी सडक कालोपत्र गरिने भएको छ ।

चालु आर्थिक वर्षभित्रै साढे छ किलोमिटर लामो उक्त सडकखण्ड कालोपत्र गर्न लागिएको हो ।

त्रियान्नब्बे ९३ किलोमिटर दूरी रहेको नाग्म–गमगढी सडकको पहिलो चरणमा कनकासुन्दरीको रोकायाबाडादेखि हाँटसिंजासम्म साढे छ किमी सडक कालोपत्र गर्न लागिएको सडक डिभिजन कार्यालय जुम्लाका सूचना अधिकारी चित्र चौलागाईंले बताए ।

हाँटसिंजा गुठिज्युलादेखि मालिकाबोतासम्म नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायत काम गर्न लागिएको छ ।

चौलागाईंले भने, ‘पहिलो चरणमा साढे छ किलोमिटर सडक कालोपत्र हुनेछ । बोलपत्र आह्वान भएर कार्यालयबाट सम्बन्धित निर्माण व्यवसायीलाई कार्यादेशसमेत भइसकेको छ । फागुन पहिलो हप्ताबाट कालोपत्रको काम सुरु हुनेछ ।’

थोदुङ वाचन जेभी कम्पन्नीले कालोपत्रको ठेक्का पाएको छ । निर्माण कम्पन्नीले असार मसान्तभित्र कालोपत्र सक्ने प्रतिबद्धता जनाएको सूचना अधिकारी चौलागाईंले जानकारी दिए ।

नाली निर्माण, पक्की पर्खाल निर्माण, कङ्क्रिट ढलानका साथै कालोपत्रको काम हुनेछ । नाग्म-गमगढी सडक कालोपत्र गर्न रु ४० करोड खर्च हुने भएको छ ।

कालोपत्रसँगै अन्य नाला निर्माण, कङ्क्रिट ढलान, पर्खाल निर्माणलगायतका काम हुनेछन् । समग्र ९३ किमी सडक नै कालोपत्रका लागि बजेट व्यवस्थापनमा जुटेको सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताए ।

उनले भने, ‘नाग्म-गमगढी सडक ग्राभेल गरिएको छ । गुठिज्युला राराताल प्रवेशद्वार भएकाले पनि कालोपत्रपछि पर्यटकलाई राहत हुने अपेक्षा गरिएको छ ।

सडककै कारण रारा आउने पर्यटकको सङ्ख्यामा गिरावट आएको छ । कर्णाली राजमार्ग स्तरवृद्धिसँगै नाग्म-गमगढी सडक कालोपत्रको खबरले रारा आउने पर्यटक उत्साहित भएको रारा राष्ट्रिय निकुञ्जका प्रमुख विश्वबाबु श्रेष्ठले बताए ।रासस

प्रकाशित मिति : २०७९ माघ २५ गते, बुधबार


Scroll to Top

Janata Media