सल्यान । सल्यानको कपुरकोट गाउँपालिकाले विवाह गर्न वडाको सिफारिस अनिवार्य गरेको छ। गाउँपालिकाभित्र बढ्दै गएको बालविवाह न्यूनीकरण गर्न भन्दै पालिकाका ६ वटै वडा कार्यालयमार्फत विवाहपूर्व अनिवार्य सिफारिसको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष दुर्गा बहादुर पुनले सबै कुरा कानुनले मात्रै पुरा गर्न नसकिने भएकाले यो कार्यविधि बनाएर कार्यान्वयनका प्रक्रियामा जाने बताए । उनले जनता मिडियासँग भने, ‘हामीले विशेषगरी बाल विवाह न्युनिकरण गर्न गर्न कार्यविधि बनाएका छौँ । यो प्रक्रिया तत्काल कार्यान्वयनमा जान्छ । त्यसपछि विवाहका लागि सबै वडाबाट सिफारिस लिनुपर्ने हुन्छ ।’
उनले जुनसुकै उमेर समूहका पालिकावासीले विवाह गर्दा अनिवार्य वडा कार्यालयमा जन्मदर्ता पेश गर्नुपर्ने र स्वीकृति लिनुपर्ने बताए। ‘बालविवाह रोक्न हामीले जनचेतना अभिवृद्धिलगायतका थुप्रै कार्यक्रम सञ्चालन गरे पनि रोक्न सकेनौँ । १५-१६ वर्षको उमेरमा बिहे गर्ने क्रम घटेन’, उनले भने।







