राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वास

जनता संवाददाता
२०८० कार्तिक २८ गते, मंगलवार

काठमाडौं, कात्तिक २८ गते ।

राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको अवसरमा देश विदेशमा रहेका नेपालीहरूमा शुभकामना दिएका छन् ।

उनले सन्देशमा भनेका छन् ‘‘नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुनः नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।’’

राष्ट्रपतिले दिएको शुभकामना सन्देश यस प्रकार छ :

‘नेपाल संवत् ११४४’ प्रारम्भ भएको सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गर्दछु ।

राष्ट्रिय विभूति शंखधर साख्वाद्वारा प्रवर्तन गरिएको नेपाल संवत् चन्द्रमास गणना गरेर तय गरिने हाम्रो मौलिक राष्ट्रिय संवत् हो । यस संवत्‌को पहिलो दिन कार्तिक शुक्लपक्ष प्रतिपदाबाट सुरु हुन्छ । यस दिनलाई नेपाल संवतको नयाँ वर्षको रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे र दोलखालगायत स्थानहरूमा नयाँ संवत्‌ शुरू हुने दिनका रूपमा विशेष पर्वका रूपमा मनाउने गरिन्छ ।

लिच्छवि राजा राघवदेवको समयमा काठमाडौँ उपत्यकामा रहेका किसान तथा गरीब जनतालाई ऋणमुक्त गरी शंखधर साख्वाले यस संवत्‌लाई प्रचलनमा ल्याएको मानिन्छ । नेपाली समाज सभ्य र सहिष्णु समाज हो । हाम्रा चाडपर्व र यस खालका असल परम्पराहरूले यसलाई थप सुदृढ बनाउँदै लगेका छन् । राष्ट्रिय विभूति साख्वाको उक्त लोककल्याणकारी तथा परोपकारी कार्यको स्मरण गर्दै आजको दिनमा निस्वार्थ भावले समाजको उन्नति र प्रगतिका लागि अग्रसर रहन हामी सबैमा प्रेरणा मिल्ने विश्वास व्यक्त गर्दछु ।

अन्त्यमा‚ नेपाल संवत्‌ले सम्पूर्ण नेपालीका बीचमा आपसी सद्‌भाव‚ सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गरी राष्ट्रिय एकता सुदृढ गर्न थप मद्दत पुग्ने विश्‍वासका साथ पुनस् नेपाल संवत् ११४४ को हार्दिक शुभकामना व्यक्त गर्दछु ।

जय नेपाल ।

२०८० साल कात्तिक २८ गते, मङ्गलबार ।

 

प्रकाशित मिति : २०८० कार्तिक २८ गते, मंगलवार


Scroll to Top

Janata Media