
धनगढी । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आम माफी पाएर जेलमुक्त भएका सांसद अरुण कुमार चौधरीले आफूसँग राजनीतिक प्रतिशोध साँधेको प्रतिक्रिया दिएका छन् । आम माफिपछि आइतबार कैलाली कारागारबाट रिहा भएलगत्तै पत्रकारसँग कुराकानी गर्दै चौधरीले यस्तो प्रतिक्रिया दिएका हुन् ।
‘फैसला भएको पनि जानकारि दिइएन, तीन/तीन पटक चुनाव लड्दा कसैले पनि यो कुरा उठाएन । म काँग्रेसमा हुँदा समेत मेरो यो मुद्धाको फैसला भएको नभएको,मलाई जेल तोके नतोकेको केही पनि थाहा भएन,तर जब म नागरिक उन्मुक्तिबाट जितेर प्रतिनिधि सभामा पुगे,अनी बल्लल यो मुद्दा उठ्यो र मलाई प्रतिशोध स्वरुप पक्राउ गरियो,’चौधरीले भने ।
अरुण,कैलाली निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए । उनी नागरिक उन्मुक्ति पार्टीका सचेतक समेत हुन् । कैलाली कारागारमा रहेका चौधरीलाई मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रजातन्त्र दिवसका अवसरमा आम माफी दिएकी हुन्।
प्रहरीले सांसद चौधरीलाई माघ १९ गते बाँकेबाट पक्राउ गरेको थियो। करिब १२ वर्षअघि उनलाई जिल्ला अदालत कैलालीले ट्याक्टरमा आगो लगाएको आरोपमा ६ महिना कैद सजाय सुनाएको थियो।
सोही आदेशअनुसार उनी माघ २० गते कैलाली जेल चलान भएका थिए । तर, चौधरीले गृहमन्त्रालयलाई जेल सजाय माफी गरिदिन भन्दै कैद माफी मिनाहाका लागि निवेदन दिएका थिए।