सदनमा अनावश्यक विषयमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई सभामुख घिमिरेको आग्रह

जनता संवाददाता
२०७९ फाल्गुन १० गते, बुधबार

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाको बैठकमा अनावश्यक विषयमा वाद प्रतिवादमा नउत्रिन सांसदहरुलाई आग्रह गरेका छन् ।

बुधबारको प्रतिनिधिसभाको बैठकमा पूर्वराजा ज्ञानेन्द्र शाहको अभिव्यक्तिलाई लिएर एमाले, माओवादी केन्द्र, जसपा र राप्रपाका सांसदहरु एक अर्कोको भनाइप्रति प्रतिवादमा उत्रन थालेपछि सभामुख घिमिरेले सदनमा दोहोरो संवाद गर्न नदिइने बताएका हुन् ।

विशेष समयमा बोल्दै जनता समाजवादी पार्टी ९जसपा० की सांसद सुशीला श्रेष्ठले गत फागुन ७ गते पूर्वराजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएकी थिइन् । ‘फागुन ७ गते जुन अभिव्यक्ति आएको छ त्यसमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ । वर्तमान व्यवस्थाप्रति ठाडो आक्रमण गर्ने प्रबृति निन्दनीय छ’ ज्ञानेन्द्र शाहलाई लक्षित गर्दै उनले भनिन् ।

त्यसपछि सांसद श्रेष्ठले पूर्वराजा शाहको भनाइको तोडमोड गरेको भन्दै राप्रपा महामन्त्रीसमेत हरेका संसद धवलशमशेर राणाले प्रतिवाद गरे । ‘पूर्व राजाले बोलेको कुरालाई अलिकति तोडेमोडेर आएको छ । पूर्वराजाले भनेको कुरा सकारात्मक हो । सबै पार्टीहरु र राजसंस्थाले मिलेर यो देशलाई उमो लगाउँ भन्ने कुरा उहाँले गर्नुभएको हो’ राणाले भने । राप्रपाका सांसद जबराले पूर्वराजा शाहले वर्तमान व्यवस्थाप्रति कुनै आपत्तिको कुरा नगरेको पनि जिकिर गरे ।

प्रकाशित मिति : २०७९ फाल्गुन १० गते, बुधबार


Scroll to Top

Janata Media