भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक : तिमिल्सिना

जनता संवाददाता
२०७९ फाल्गुन १९ गते, शुक्रबार

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले मुलुकमा विद्यमान भ्रष्टाचार अन्त्यका लागि राजनीतिक दलहरुबीच राष्ट्रिय सहमति आवश्यक रहेको बताएका छन् ।

संसद्मा प्रतिनिधिहरु गर्ने राजनीतिक दलहरु र राज्यको माथिल्लो निकायमा रहेका प्रमुखहरुले भ्रष्टाचारीलाई कारबाही गर्नेगरी सहमति गर्नुपर्ने पनि स्पष्ट पारे । भ्रष्ट्राचारविरुद्ध सांसदहरुको विश्वव्यापी संगठन, नेपाल च्याप्टरले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले २०४६ सालयताका भ्रष्टहरुलाई छानबिन गरी कारबाही गर्न दलहरु तयार हुनुपर्ने बताए ।

“राजनीतिक दलहरुले मुलुकमा सुशासन ल्याउन राष्ट्रिय सहमति नै गरेर अघि बढनुपर्छ,” उनले भने, “भ्रष्टहरुलाई जेलमा पठाउनका लागि राजनीतिक नेतृत्व प्रतिबद्ध हुन सकेको खण्डमा मुलुकमा भ्रष्टाचार नियन्त्रण हुन्छ ।”

अध्यक्ष तिमिल्सिनाले भ्रष्टाचार नियन्त्रणका लागि अख्तियार दुरुपयोग अनुसन्धान आयोगजस्ता निकायहरुलाई सशक्त बनाउनुपर्नेमा पनि जोड दिए ।

प्रकाशित मिति : २०७९ फाल्गुन १९ गते, शुक्रबार


Scroll to Top

Janata Media