अदानचुली गाउँपालिकालाई युवाहरुको समुहले दियो अल्टिमेटम

जनता संवाददाता
२०७९ फाल्गुन २० गते, शनिबार

काठमाडौँ । हुम्लाको अदानचुली गाउँपालिकालाई करिब १५ जना युवाको समुहले विभिन्न मागसहित सुनुवाई गर्नका लागि २० दिने अल्टिमेटम दिएको छ ।

अदानचुली स्थायी ठेगाना भएका युवाहरुको समुहले स्थानीय सरकारमा नयाँ जनप्रतिनिधिहरु निर्वाचित भएसँगै कार्यकारीकै विषयमा वादविवाद भएको र कर्मचारी दरखास्तका सम्बन्धमा आजसम्म कुनै पनि प्रक्रिया नबढेकोमा चासो जनाएको छ ।

उक्त समुहद्धारा जारी गरिएको विज्ञप्तिमा संयोजक मदन फडेरा, सह संयोजक मोहन रोकाया, प्रमुख सचेतक चन्द्र बहादुर भियाल र प्रवक्ता नन्दकृष्न थापाको हस्ताक्षर सहित आफ्ना मागहरु उल्लेख गरिएको छ ।

विज्ञप्तिमा लेखिएको छ, ‘कर्णाली प्रदेश अन्तर्गत हुम्ला जिल्ला अदानचुली गाउँपालिकाको पछिल्ला गतिविधिको विषयमा हाम्रो अदानचुली खबरदारी अभियानको गम्भीर ध्यानाकर्षण भएको छ ।’

‘वि.सं. २०७९ बैसाख ३० गते स्थानिय तहको निर्वाचन भई नयाँ स्थानिय सरकार निर्वाचित भएको १० महिना पुगिसकेको अवगत नै छ । स्थानिय सरकार संचालन ऐन २०७४ बमोजिम स्थानिय तहलाई आफ्नो अधिकार क्षेत्र भित्र पर्ने सम्पुर्ण कार्य ऐन वमोजिम गर्ने प्रावधान छ । तर अदानचुली गाउँपालिकाले गरेका पछिल्ला ऐन विपरित गतिविधिको विषयमा हाम्रो अदानचुली खवरदारी अभियानले निगरानी गरीरहेको छ । आर्थिक वर्ष २०७९/८० श्रावण महिनाको ११ गते प्रकाशित कर्मचारी माग विज्ञापनको परिक्षा सञ्चालन हुन नसक्नु आफु निकट कार्यकर्तालाई नियुक्ती दिई व्यवस्थापन मिलाई जनता सामु सार्वजनिक नगराइनु, अहिलेसम्म एउटा पनि कार्यलय प्रमुख राख्न नसक्नु, वर्षमा २ पटक हुने अधिवेसनमा हिउदे अधिवेसन हुन नसक्नु, कार्यरत कर्मचारीलाई समयमा पारिश्रामिक नदिइनु इत्यादी कुरा प्रती हाम्रो अदानचुली खवरदारी अभियान घोर आपत्ती जनाउँदछ ।’

‘हाम्रो अदानचुली खवरदारी अभियानको आज बसेको बैठकको निर्णय अनुसार २०७९ चैत्र महिनाको १० गते सम्म ठोस निस्कर्ष निकाली माथि उल्लेखित विषयमा सत्यतथ्य कुरा जनतासामु ल्याउन खबरदारी गर्दै यदि सुनुवाई नभए थप प्रक्रियामा जाने अवगत गर्दछौँ ।’

विज्ञप्ति हेर्नुहोस्:

प्रकाशित मिति : २०७९ फाल्गुन २० गते, शनिबार


Scroll to Top

Janata Media