लैङ्गिक हिंसाविरुद्धको अभियानमा विविध कार्यक्रम गरिने

जनता संवाददाता
२०८१ मंसिर ९ गते, आईतवार

काठमाडौं । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको क्रममा कैलाली र कञ्चनपुरका पालिकामा विविध कार्यक्रम गरिने भएको छ । लिङ्गको आधारमा हुने सबैखाले हिंसा अन्त्यका लागि स्थानीय तहहरुमा सचेतनामूलक कार्यक्रम गर्ने भएको हो ।

हरेक वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्म लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गरिन्छ । यस वर्ष गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम प्रदेशको नेतृत्वमा २२ वटा गैरसरकारी संघसंस्थाले लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सञ्चालन गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।

लैङ्गिक हिंसाविरुद्ध सचेतनाका लागि पालिकाहरुमा अन्तरक्रिया, र्याली, अभिमूखीकरण, घुम्ती शिविर, सडक नाटक लगायतका सचेतनामूलक कार्यक्रम गर्ने जनाइएको छ । अभियानभरि १५३ वटा सचेतनामूलक कार्यक्रम गर्ने र त्यसका लागि अनुमानित २८ लाख १७ हजार बजेट खर्च हुने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

अभियान अवधिभरि कैलालीको १३ र कञ्चनपुरको एक गरी १४ वटा पालिकाहरुमा लैङ्गिक हिंसा अन्त्य सम्बन्धी विविध कार्यक्रम गरिने महासंघका अध्यक्ष देवीप्रसाद खनालले जानकारी दिए । उनले लैङ्गिक हिंसा, बाल विवाह, आत्महत्या, लागु हिंसा लगायत विभिन्न हिंसाविरुद्ध जनचेतनामूलक कार्यक्रम गर्ने उल्लेख गरे ।

सन् १९६० नोभेम्बर २५ मा डोमिनिकन गणतन्त्रका तत्कालीन राफेल ट्रिजुलो तानाशाही सरकारले मिरावेल परिवारका तीन साहसी दिदीबहिनी पेट्रिया, मिनर्भा र मारियाको हत्या गरेपछि ल्याटिन अमेरिकी देशमा हिंसाविरुद्धको दिवसको रुपमा मनाउन थालिएको थियो ।

पछि सन १९९९ मा संयुक्त राष्ट्र संघले यसलाई आत्मसात गरेर नोेभेम्बर २५ को दिनलाई संसारभर नै महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवसको रुपमा स्थापित गरेको छ । महिला हिंसाविरुद्धको अन्तर्राष्ट्रिय दिवस दिनबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने गरेको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ मंसिर ९ गते, आईतवार


Scroll to Top

Janata Media