चामलको अभाव हुने ठाउँमा २७ कुइन्टल सडेको चामल भेटियो

जनता संवाददाता
२०७९ फाल्गुन २४ गते, बुधबार

हुम्ला । हुम्लाको अदनचुली गाउँपालिकाको श्रीनगर डिपोमा ढुवानी भएको चामल सडेको पाइएको छ । करिब २७ कुइन्टल ९० केजी चामल सडेर खान योग्य नभएपछि नष्ट गरेकोे छ ।

दुई वर्षअघि देखि डिपोमा थन्क्याएर राखिएको खाद्य संस्थानको चामल जिल्ला खाद्य संस्थान हुम्लाले तत्काल गाडेर नष्ट गरेको हो । चामलको गुणस्तर चेकजाँच गर्दा बिग्रिएको पत्ता लागेपछि सबै चामल श्रीनगर खाद्य डिपो नजिकै खाडल खनेर गाडिएको हो ।

अखाद्य चामल जिल्ला खाद्य संस्थान हुम्लाका सहायक कार्यालय प्रमुख नविन आचार्य, श्रीनगर प्रहरी चौकी, स्थानीय र जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको छ ।

सडेको चामल धेरै अगाडि देखिनै गाड्न खोजिए पनि केन्द्रबाट आदेश नआएकोले ढिलाइ भएको थियो । तर केन्द्रबाट आदेश आएलगत्तै फागुन २२ गते नष्ट गरिएको खाद्य संस्थान हुम्लाका सहायक कार्यालय प्रमुख आचार्यले बताए ।

सुरक्षित भण्डारणको अभावमा कुहिएको चामल खानका लागि उपयोग गर्न नमिल्ने भएकाले नष्ट गरिएको उनले बताए । अधिकांश बोराको चामल कुहिएर डल्लो परेको, सडिएको, कालो भएको र गन्ध समेत आउने भएको स्थानीयले बताए । उक्त चामल ठेकदार नन्द महतारा र टोपनारायण चालीसेले ढुवानी गरेका थिए । करिब १ सय कुइन्टल कुहिएको चामल थन्किएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन २४ गते, बुधबार


Scroll to Top

Janata Media