पोखरा र भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल आवश्यकता थिएनः माधव नेपाल

जनता संवाददाता
२०७९ चैत्र १० गते, शुक्रबार

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका छन् ।

शुक्रबार पार्टीको अर्थ-योजना विभागले आयोजना गरेको देशको वर्तमान आर्थिक अवस्था र समाधानका उपायहरु विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको आवश्यकता नभएको बताएका हुन् ।

उनले यी दुई विमानस्थलमा अर्बौं रुपैयाँ लगानी भएपनि प्रतिफल नआएको बताए । सो पैसा अर्को क्षेत्रमा लगानी गरेको भए त्यसको प्रतिफल आउने उनको भनाइ छ । उनले निजगढ अन्तर्राष्ट्रिय विमानस्थलले भने आवश्यकताको पूर्ति गर्ने बताए ।

अध्यक्ष नेपालले देशको सबै क्षेत्रहरुमा समस्या भएको भन्दै समस्याको मुख्य कारण भ्रष्टाचार भएको बताए । भ्रष्टाचारको अन्त्य सिंहदरबारबाट मात्रै गर्न सकिने उनको भनाइ छ । उनले  मुख्य नेतृत्वबाट नै भ्रष्टाचारको अन्त्य गर्न सकिने बताए ।

प्रकाशित मिति : २०७९ चैत्र १० गते, शुक्रबार


Scroll to Top

Janata Media