हुम्ला । हुम्लाको सिमकोट गाउँपालिकाले एसइई परिक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीलाई नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको छ । गाउँपालिकाले परिक्षाको केहि समय अगाडि नै विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न नगदसहित पुरस्कृत गर्ने निर्णय गरेको हो ।
मिति २०७९ साल चैत ७ बसेको कार्यपालिका बैठकको निर्णय अनुसार सिमकोट गाउँपालिका अन्तर्गत सामुदायिक विद्यालय भित्र अध्ययनरत विद्यार्थीले एसईईमा ३.६ जिपिए ल्याउने छात्र-छात्राहरूलाई प्रोत्साहन स्वरूप रू. १०,००० सहित प्रमाणपत्रका साथ सम्मान गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले सामुदायिक विद्यालयमा अध्ययन गरेर २०७९ सालको एसईई परीक्षामा ३.६ जीपीए ल्याएर एसईई पास गरेका विद्यार्थीलाई नगदसहितको पुरस्कृत गर्ने गाउँपालिका अध्यक्ष विजय भण्डारीले जानकारी दिए ।
‘गाउँपालिकाका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई उच्चशिक्षा अध्ययन गर्न प्रोत्साहन गर्ने ध्येयले उत्कृष्ट नतिजा ल्याउन यो कार्यक्रमको सार्वजनिक गरेको हौं’, अध्यक्ष भण्डारीले भने, ‘यसले एकातर्फ विद्यार्थीहरुलाई आन्तरिक प्रतिष्पर्धाका लागि प्रात्साहित गर्छ भने अर्कोतर्फ भविष्यमा पालिकालाई दक्ष जनशक्ति उत्पादन गर्नका समेत सहयोग पुगोस् भन्ने उद्देश्य हाम्रो छ ।’
पालिकाभित्र रहेका ६ ओटै विद्यालयका परीक्षार्थीहरुले यो अवसर पाउनेछन् ।







