२ अर्ब ८० करोड निक्षेप अपचलन गर्ने तेजविक्रम थापासहित ४ जना सार्वजनिक

जनता संवाददाता
२०८१ असार २ गते, आईतवार

काठमाडौं । सर्वसाधारण निक्षेपकर्ताको २ अर्ब ८० करोड रुपैयाँ निक्षेप अपचलन गर्ने कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका सञ्चालक तेज विक्रम थापा पक्राउ परेका छन् । आइतबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय अपराध महाशाखा ले थापासहितका चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

निक्षेपकर्ताको निक्षेप सङ्कलन गरी फिर्ता नदिई फरार रहेका सहकारीका अध्यक्ष तेज विक्रम थापासहित ४ जनालाई अपराध महाशाखाले शनिवार पक्राउ गरेको थियो । पक्राउ पर्नेहरूमा संस्थाका अध्यक्ष तेजविक्रम थापा, व्यवस्थापक सजना राजकर्णिकार र सदस्यहरू भीमसेन महर्जन र सञ्जय सापकोटा रहेका छन् ।

सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरूले आकर्षक ब्याज रकम दिन्छु र चाहिएको समयमा बचत झिक्न पाइन्छ भनी निक्षेपमा रकम राख्न लगाएर बचत फिर्ता नगरी सहकारीको रकम अपचलन गरेर उनीहरू फरार भएका थिए । सञ्चालक तथा सदस्यहरू फरार रहेपछि ५६६ जना निक्षेपकर्ताहरुले २०८० पुस १९ गते जिल्ला प्रहरी परिसर, ललितपुरमा ठगीको कसुरमा जाहेरी दर्ता गराएका थिए । त्यस लगत्तै उनीहरू फरार भएका थिए । ललितपुर प्रहरीले उनीहरुविरुद्ध अदालतबाट पक्राउ अनुमति समेत लिएको थियो ।निक्षेपकर्ताको रकमबाट दर्जनौँ कम्पनी खोलेर रकम अपचलन

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष रहेका थापाले करिब एक दर्जन कम्पनी दर्ता गरेर निक्षेपकर्ताको करोडौँ रकम अपचलन गरेको पाइएको छ । थापा २०५६ सालमा १७ वर्षको हुँदा कृषि विकास बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको चिफ अकाउण्टेण्ट र संस्थापक रही सहकारी खोलिएको थियो ।
२०६० सालदेखि थापा निरन्तररुपमा उक्त सहकारीको अध्यक्ष पदमा रहेका छन् । त्यस्तै २०६६ सालमा कृषि ईन्भेष्टमेन्ट प्रालि दर्ता गरी त्यसको अध्यक्ष रहेका छन् । थापाले २०६६ सालमै भक्तपुरमा समिट अस्पताल समेत सञ्चालन गरी सो अस्पतालको अध्यक्ष भई कामकाज गरिरहेका थिए ।

निक्षेपकर्ताकै रकमबाट थापाले २०७० सालमा अन्नपूर्ण किसान फिड एण्ड फर्टिलाइजेसन उद्योग सञ्चालनमा ल्याएका छन् र उनी त्यहाँ पनि अध्यक्ष छन् । थापाले २०७० सालमै कृषि फ्रेस प्रालि स्थापना गरी काठमाडौं उपत्यकाको १४ स्थानमा मार्ट र विक्री केन्द्र सञ्चालन गरिरहेका छन्, उनी त्यस संस्थाको पनि अध्यक्ष छन् ।त्यस्तै २०७१ सालदेखि उनले कृषि टेलिभिजन सञ्चालनमा ल्याएका छन् र उनी टेलिभिजनमा अध्यक्ष छन् ।

थापाले २०७३ सालमा साझा संसार मिडिया नेटवर्क नामक कम्पनी खडा गरी गोरखा टेलिभिजनसमेत चलाएका छन् । उनी त्यस टेलिभिजनको पनि अध्यक्ष हुन् । तेज विक्रम थापाले २०७१ सालबाट ईन्टेन्सिव मल्टीप्रपोज एग्रिकल्चर कम्पनी प्रालि समेत दर्ता गरी सञ्चालन गरिरहेका छन् र उनी त्यहाँ पनि अध्यक्ष नै रहेका छन् । थापाले २०७६ सालदेखि यति टेक्निक प्रालि नामक कम्पनी समेत सञ्चालन गरी त्यहाँ पनि अध्यक्ष रहेका छन् ।

थापाविरुद्ध चेक बाउन्सका मुद्दै मुद्दा

कृषि विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष तेजविक्रम थापाविरुद्ध दायर चेक बाउन्सका दुई मुद्दामा उनी दोषी ठहर भएका छन् भने तीन वटा मुद्दा विचाराधीन अवस्थामा रहेको छ । थापाविरुद्ध जिल्ला प्रहरी परिसर, ललितपुरमा जाहेरी दर्ता भई अदालतमा पुगेको २६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले दुई वटा मुद्दामा दोषी ठहर भइसकेका छन् ।
त्यस्तै सोही रकम बराबर काठमाडौं प्रहरीमा परेको जाहेरीमा उनी फरार थिए भने ललितपुरमै १५ लाख रुपैयाँ र ९५ लाख रुपैयाँको दुई वटा चेक बाउन्सको मुद्दामा समेत उनी फरार रहेका थिए । थापासहितका चारै जनालाई आइतबार नै जिल्ला प्रहरी परिसर ललितपुरको जिम्मा लगाउने तयारी गरिएको छ ।

प्रकाशित मिति : २०८१ असार २ गते, आईतवार


Scroll to Top

Janata Media