बारा–२ बाट पाँच हजार ८१ मतान्तरले उपेन्द्र यादव विजयी

जनता संवाददाता
२०८० बैशाख १३ गते, बुधबार

बारा । बारा निर्वाचन क्षेत्र नम्बर–२ बाट जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादव विजयी भएका छन् । उनले २८ हजार ४१५ मत प्राप्त गरी विजयी भएका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गगरेका छन् । यादव पाँच हजार ८१ मतको अन्तरमा विजयी भएका हुन् । नेता यादवले मतगणनाको सुरुवातदेखि नै अग्रता कायम गरेका थिए ।

तेस्रो स्थानमा नेकपा ९एमाले० का पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रमेशप्रसाद खरेल २ हजार ८२९ मतका साथ चौथो स्थानमा छन् ।

एक लाख पाँच हजार २४८ मतदाता रहेको यो निर्वाचन क्षेत्रमा ६९ हजार १०७ मत खसेको जिल्ला निर्वाचन कार्यालय बाराका प्रमुख सरोज चौधरीले जानकारी दिए।

त्यसमध्ये ३७ हजार ४९ पुरुष र ३२ हजार ५८ महिलाको मत खसेको थियो । वैशाख १० गते भएको उपनिर्वाचनमा ६५।६६ प्रतिशत मतदान भएको थियो। यसअघि मंसिर ४ गते भएको संघीय निर्वाचनमा बारा २ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति निर्वाचित भएपछि उपनिर्वाचन भएको हो।

वैशाख १० गते भएको उपनिर्वाचनमा सत्तारुढ गठबन्धनका साझा उम्मेदवार यादव विजयी हुने एक्लो उम्मेदवार हुन् । तनहुँ र चितवनमा भएको उपनिर्वाचनमा भने राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार डा। स्वर्णिम वाग्ले र रवि लामिछाने विजयी भएका छन् ।

प्रकाशित मिति : २०८० बैशाख १३ गते, बुधबार


Scroll to Top

Janata Media