
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढाल्न नेपाली कांग्रेस सक्रिय भएको छ । २६ पुसमा प्रधानमन्त्री दाहालले विश्वासको मत लिँदैछन् ।
प्रचण्डलाई विश्वासको मत पाउनबाटै वञ्चित गरिदिएर सरकार ढाल्ने गरी कांग्रेस सक्रिय बनेको हो । यसका लागि कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादी पार्टी जसपालाई फकाइरहेको छ । राप्रपा र जसपालाई अहिलेको सत्ता गठबन्धनबाट बाहिर ल्याउन कांग्रेसले अधिकतम प्रयास गरिरहेको छ ।
स्रोतका अनुसार सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्री स्वीकारेर अघि बढ्न सकिने अफरसमेत कांग्रेसले दिएको छ । राप्रपाका एक शीर्ष नेताले पनि दाहाल नेतृत्वको सरकार ढाल्न आफूहरूलाई कांग्रेसबाट प्रधानमन्त्रीको अफर आएको बताए ।
‘प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव आएको साँचो होु, ती नेताले भने, ‘छलफलहरू भइरहेका छन् ।’ उनका अनुसार कांग्रेससहित भारतीय र अमेरिकी शक्ति केन्द्रहरूले पनि यसमा प्रयास गरिरहेका छन् ।
‘जसरी पनि विश्वासको मत नदिएर दाहाल सरकार ढाल्न देशभित्र र बाहिरका शक्तिहरू व्यापकै लागेका छन् । भारत र अमेरिकाले पनि खेलिरहेको पाइएको छु, उनले भने ।’
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले भने आफूहरू अनैतिक खेलमा नलाग्ने बताए । उनका अनुसार प्रधानमन्त्रीले विश्वासको मत लिने बेला यस्ता प्रस्तावहरू आउनु स्वभाविकै हो ।
उनले जुनसुकै प्रस्ताव आए पनि राप्रपाले परिपक्व निर्णय गर्ने बताए । सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर आफूहरू अगाडि बढ्ने उनले बताए ।