काठमाडौं । यही वैशाख १० गते सम्पन्न उपनिर्वाचनबाट निर्वाचित दुईजना प्रतिनिधिसभा सदस्यले शपथग्रहण गरेका छन् । चितवन–२ बाट निर्वाचित रवि लामिछाने र तनहुँ–१ बाट निर्वाचित स्वर्णिम वाग्लेको आज (शुक्रबार) शपथग्रहण गरेका हुन् ।
निर्वाचित प्रतिनिधिसभा सदस्यहरुलाई सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथग्रहण गराउँदै सांसदको लोगो वितरण गरेका छन् । बारा–२ बाट निर्वाचित उपेन्द्र यादवको सपथग्रहण भने आज हुन सकेन ।
गत मङ्सिर ४ मा भएको निर्वाचनबाट तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति हुनुभएपछि उक्त क्षेत्रमा उपनिर्वाचन भएको हो ।
साथै बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति हुनुभएको र चितवन–२ बाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादका कारण पदमुक्त हुनुभएकाले उपनिर्वाचन गरिएको थियो । उपनिर्वाचनबाट लामिछाने पुनः सांसद चुनिएका हुन् ।







