एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जित्यो नेपालविरुद्धको सिरिज

जनता संवाददाता
२०८१ बैशाख २० गते, बिहीबार

काठमाडौँ । पाँच खेलको टी–२० सिरिज एक खेल अगावै वेस्ट इन्डिज ‘ए’ ले जितेको छ । नेपालको घरेलु मैदानमा बिहीबार वेस्ट इन्डिजले एक खेल अगाडि सिरिज ३-१ ले जितेको हो ।

पहिलो खेल चार विकेटले जितेको नेपालले त्यसपछि लगातार तीन खेल गुमाएपछि सिरिज वेस्ट इन्डिजले जितेको हो ।दोस्रो खेलमा १० रनले विजयी भएको वेस्ट इन्डिजले तेस्रो खेलमा ७६ रनको शानदार जित निकालेको थियो ।बिहीबार भएको चौथो खेलमा नेपाल २८ रनले पराजित भएको हो ।

बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा तीन विकेटको क्षतिमा दुई सय ९ रन बनाएको थियो ।

वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले अविजित ८४ रन बनाए । यस्तै जोनसन चार्ल्सले ५८ र फाबिएन एलेनले अविजित ३३ रन बनाए। बलिङमा नेपालका कुशल भुर्तेलले दुई तथा प्रतिश जिसीले एक विकेट लिए ।

चौथो खेलमा नेपाली टोलीका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । उनले ४७ बल खेल्दै सात चौका र पाँच छक्काको मद्दतमा ८४ रन बनाएका हुन् । उनले यसअघि पहिलो खेलमा शतक र दोस्रो खेलमा अर्धशतक बनाएका थिए ।

शनिबार भएको पहिलो खेलमा उनले शतकीय इनिङ खेलेका थिए । उनले ५४ बल खेल्दै ११२ रन बनाएका थिए । आइतबार भएको दोस्रो खेलमा नटआउट ७१ रन बनाएका पौडेललाई तेस्रो खेलमा भने आराम दिइएको थियो ।

चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपालका लागि कप्तान पौडेलबाहेक अन्य ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । ओपनर आशिफ शेख दुई बलको सामना गर्दै शून्यमा आउट हुँदा कुशल भुर्तेलले पाँच बलमा १ रन जोडेका थिए । कुशल मल्ल चार बलमा ४ रन जोड्दै आउट भए । नेपालका लागि सन्दीप जोरा, दीपेन्द्रसिंह ऐरी र गुल्सन झाले समान १९–१९ रन जोडे । अविनाश बोहोरा १७ र सोमपाल कामीले १० रन जोडे । पूरै २० ओभर खेल्दै नेपाल सबै विकेट गुमाएर १८१ रनमा समेटिएको हो ।

नेपाललाई सस्तैमा समेट्न म्याथ्यू फोर्ड र हेडेन वाल्शले समान तीनतीन विकेट लिए भने गुडाकेश मोती र फेबियन एलेनले दुईदुई विकेट हात पारे । सिरिजको अन्तिम खेल शनिबार कीर्तिपुरमा हुनेछ ।

प्रकाशित मिति : २०८१ बैशाख २० गते, बिहीबार


Scroll to Top

Janata Media