नेपाल र युएईको खेल रोकियो, बाँकी खेल मङ्गलबार ‘रिजर्भ डे’ मा हुने

जनता संवाददाता
२०८० बैशाख १८ गते, सोमबार

काठमाडौं । एसीसी प्रिमियर कपको नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीच सोमबारको फाइल खेल वर्षाका कारण रोकिएको छ।

त्रिवि मैदान कीर्तिपुरमा लगातार वर्षका कारण खेल बीचमै रोकिएको हो । दुई टोलीबीचको बाँकी खेल मङ्गलबार ‘रिजर्भ डे’ मा हुनेछ ।

वर्षा हुनुअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले २७.३ ओभरमा नौ विकेटको क्षतिमा एक सय ६ रन जोड्दा पानी परेपछि खेल रोकिएको थियो ।

युएईका लागि आसिफ खानले सर्वाधिक ४६ रन बनाए । कप्तान आर्यानल लार्काले १३, मुम्हमद वासिमले ११ र बसिल हमेदले १० रन जोडे ।

बलिङमा नेपालका ललित राजवंशीले तीन, सन्दीप लामिछाने र करण केसीले दुई दुई तथा सोमपाल कामी र गुलशन झाले एक एक विकट लिएका छन् ।

एसिया कपमा छनोट हुन नेपालका लागि फाइनल खेल निकै महत्त्वपूर्ण रहेको छ । घरेलु मैदानमा दर्शकको साथमा नेपाल युएईमाथि सानदार जित निकाल्ने सोमबारको प्रयास मङ्गलवार पूरा हुने विश्वास गरिएको छ ।

युएई पनि नेपाललाई हराएर एसिया कपको ढोका खोल्ने अभियानमा छ । तर मङ्गलवार पनि वर्षाको कारण खेल रोकिएमा सुपर ओभर या वरीयताको आधारमा नजिता निकालिने छ ।

पहिलो सुपर ओभर बराबरी भएका दोस्रो सुपर ओभर हुनेछ । यदि सुपर ओभर समेत हुन नसकेमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)को एक दिवसीय वरीयतामा अगाडि रहने टोली विजेता बन्नेछ ।

यस्तो अवस्थामा नेपाल वरीयतामा १४औँ र युएई १९औँ स्थानमा छ । त्यसैले वरीयताको आधारमा नेपाल च्याम्पियन बन्नेछ । फाइनल विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कप खेल्नेछ । एसिया कपमा भारत र पाकिस्तान जस्ता ठूला देशको सहभागिता रहनेछ ।

शीर्ष तीनमा परेसँगै ओमान, नेपाल र युएईले आगामी जुलाईमा आयोजना हुने एसीसी इमर्जिङ टिम्स एसिया कपको यात्रा सुनिश्चित गरेका छन् ।

युएईविरुद्ध नेपाल-११
रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, भीम सार्की, कुशल मल्ल, आरिफ शेख, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललित राजवंशी ।

प्रकाशित मिति : २०८० बैशाख १८ गते, सोमबार


Scroll to Top

Janata Media