उपसभामुख र न्यायाधीशको टोली डोल्पा फोक्सुण्डोमा

जनता संवाददाता
२०८० बैशाख २४ गते, आईतवार

डोल्पा । उपसभामुख इन्दिरा रानामगर, सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लसहितको टोली जलवायु परिवर्तनले स्थानीयमा पारेको असर बुझ्न डोल्पाको फोक्सुण्डो क्षेत्रमा पुगेको छ।

सदरमुकाम दुनै हुँदै माथिल्लो भेग फोक्सुण्डो ताल क्षेत्रमा पुगेर टोलीले स्थानीयसँग भेटघाट र छलफल गर्दै त्यहाँको समस्याबारे जानकारी लिएको छ।

से फोक्सुण्डो गाउँपालिकाका पदाधिकारी, स्थानीय समुदायबीच भएको छलफलमा बोल्नुहुँदै उपसभामुख रानामगरले जलवाय परिवर्तनले बाढी पहिरो गएको, कृषि र पर्यटनमा प्रत्यक्ष असर पुर्याएको तर स्थानीयवासीलाई त्यसबारे पर्याप्त जानकारी नभएको बताईन्।

उपसभामुख रानामगरले भनिन्, ‘‘यो क्षेत्रमा जलवायु परिवर्तनले जनजीवनमा ठूलो समस्या पारेको छ। प्रकृतिको संरक्षण हुन सकेको छैन। त्यसले पर्यटनलाई प्रभावित बनाएको छ। यसलाई रोक्न सबै मिलिजुली सहकार्य गर्नुपर्छ।’’

कार्यक्रममा सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्लले प्रकृतिको संरक्षित हुने अधिकार रहेको र नेपालको अदालतले यसबारे विभिन्न निर्णय गरेको जानकारी गराए।

उनले भने, ‘‘प्रकृतिको पनि आत्मसम्मान हुन्छ। त्यहाँका समुदाय, जातजातिको भावना अनुसार संरक्षित हुने अधिकार हुन्छ। यो विषय पनि जलवायु न्यायसँग जोडिएको छ।’’

नेपालको हिमाल, ताल जोगाउनु नेपालीका लागि मात्र नभै विश्व समुदायको लागि आवश्यक भएको उनको भनाइ छ। राष्ट्रिय सभाका सांसद एवं पूर्व परराष्ट्र मन्त्री डा. विमला राई पौडेलले डोल्पा यात्राबाट जलवायु परिवर्तनले फोक्सुण्डोसहितका क्षेत्रमा परेको प्रत्यक्ष असर बुझ्ने अवसर मिलेको बताईन्।

से फुक्सुण्डो गाउँपालिकाका अध्यक्ष दावा सन्दुक गुरुङ, सोही गाउँपालिका वडा नम्बर ८ का वडाध्यक्ष निमा लामासहितले केन्द्रबाट गएको टोलीले ताल संरक्षण गर्नुपर्ने, जग्गाको मुआब्जा पाउनुपर्ने, पदयात्रा व्यवस्थित बनाउनुपर्ने, पहिरोलगायत जोखिम न्यूनिकरणमा राज्यले ध्यान दिनुपर्नेलगायतको मागसहित ज्ञापनपत्र पेस गरेको छ।

आयोजक साथसाथैका अध्यक्ष प्रजिता कार्कीले स्थानीय जनताले भोग्नुपरेका समस्यालाई सुझावका रुपमा लिएर सरोकारवाला निकायको ध्यानाकर्षण गराउने र यस्ता कार्यक्रमलाई निरन्तरता दिने विश्वास दिलाएकि छिन्। वातवरणीय न्यायको क्षेत्रमा काम गर्दै आएको साथसाथै फाउण्डेशनले शुक्रबार फोक्सुण्डो ताल परिसरमा कार्यक्रम गरेको हो।

प्रकाशित मिति : २०८० बैशाख २४ गते, आईतवार


Scroll to Top

Janata Media