कर्णाली करिडोर एक साता बन्द हुने

जनता संवाददाता
२०८० बैशाख ३१ गते, आईतवार

सुर्खेत । कर्णाली करिडोरको कालीकोटको नरहरिनाथ–८ खुलालुबाट हुम्लाको सलीसल्ला सडकखण्ड एक हप्ताका लागि बन्द हुने भएको छ।

कर्णाली करिडोरको खुलालु पुल नजिकै सडकको स्तरोन्नति कार्य हुने भएकाले सात दिनका लागि करिडोर बन्द हुने भएको हो ।

जिल्ला प्रशासन कार्यालय कालीकोटले एक सूचना जारी गरी कर्णाली करिडोरको खुलालु पक्की पुल छेउछाउमा सडक स्तरोन्नति गर्नुपर्ने भएकाले एक हप्ताका लागि बन्द गरिएको जानकारी गराएको छ।

जेठ १ गतेदेखि सात दिनका लागि सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय कालीकोटका सहायक प्रमुख जिल्ला अधिकारी सरोज अधिकारीले जानकारी दिए।

‘खुुलालु क्षेत्रको सडक स्तरोन्नति कार्य सुरु हुने भएकाले एक हप्ताका लागि सो क्षेत्रमा सडक बन्द गरिएको हो,’ उनले भने, ‘करिडोर जोड्ने एउटामा मात्रै खुलालुु पुल हो । त्यही काम गर्नु परेकाले एक हप्ता बन्द गरिएको हो।’

सडक बन्दले कर्णाली करिडोर हुँदै कालीकोटको नहरिनाथ, सान्नी त्रिणेणी, पचालझरना, पलाँता गाउँपालिका, रास्कोट नगपालिका, बाजुरा, मुगु र हुम्ला जानका लागि आवातजावत प्रभावित हुने भएको छ।

प्रकाशित मिति : २०८० बैशाख ३१ गते, आईतवार


Scroll to Top

Janata Media