केपी ओली कप: सातदोबाटो र मच्छिन्द्र फाइनलमा

जनता संवाददाता
२०७९ फाल्गुन १५ गते, सोमबार

काठमाडौं ।  सातदोबाटो युथ क्लव र मच्छिन्द्र फुटबल क्लवले केपी ओली राष्ट्रिय फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिष्पर्धा गर्ने भएका छन् ।ललितपुरस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको मैदानमा सम्पन्न पहिलो सेमिफाइनल खेलमा त्रिभुवन आर्मीलाई पेनाल्टी सुट आउटमा ६–५ गोल अन्तरले पराजित गर्दै सातदोबाटो युथ क्लवले फाइनलमा स्थान बनाउँदा अर्को खेलमा मच्छिन्द्रले आयोजक केपी ओली फुटबल क्लवलाई १–० गोल अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

यससँगै यी दुई टोलीबीच उपाधिका लागि प्रतिष्पर्धा निश्चित भएको हो ।

यस्तै यसअघि भएको पहिलो सेमिफाइनल खेल निर्धारित समयमा आर्मी र सातदोबाटोबाट कुनै गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुट आउटबाट लिइएको थियो । पेनाल्टीमा सातदोबाटो सफल भएको हो । आईतवार वर्षाले प्रभावित यी दुई टोलीबीचको पहिलो सेमिफाइनल खेलको दोस्रो हाफ सोमबार पुनः खेलाइएको थियो ।

पेनाल्टीमा सातदोबाटोका सुदीप गुरुङ, अब्दुल अबुबकारी, एकराज बुढाथोकी, विलियम एसिडोउ, सुरज गुरुङ, पासाङ लामाले गोल गर्दा दीपक राज ठकुरीको प्रहार आर्मीका गोलकिपर विकेश कुथुले बचाउ गरेका थिए । आर्मीका दिनेश हेन्जन, टेक बहादुर बुढाथोकी, सेसेहाङ आङदेम्बे, नवयुग श्रेष्ठ र दीपक गुरुङले गोल गरे ।

सुदिल राईको प्रहार सातदोबाटोका गोलकिपर अभिषेक बरालले बचाउँदा विकास खवासको प्रहार क्रसबारमा लागेर बाहिरिएको थियो ।

प्रकाशित मिति : २०७९ फाल्गुन १५ गते, सोमबार


Scroll to Top

Janata Media