ज्ञानेन्द्र शाहीको प्रश्नमा प्रधानमन्त्री प्रचण्डको जवाफ

जनता संवाददाता
२०८० जेष्ठ ५ गते, शुक्रबार

काठमाडौं । बिहीबारको प्रतिनिधि सभाको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले २० जना सांसदले सोधेका प्रश्नको सिधा जवाफ दिएका छन् ।

बैठकमा ईश्वरीदेवी न्यौपाने, पदम गिरी, पूर्णबहादुर घर्ती, शिशिर खनाल, ज्ञानबहादुर शाही, दीपक कार्की, शेरबहादुर कुँवर, अनिता देवी, सर्वेन्द्रनाथ शुक्ल, गङ्गाराम चौधरी, प्रेम सुवाल, चित्रबहादुर केसी, प्रभु साह, डा। अमरेशकुमार सिंह, योगेन्द्र मण्डल, दीपक गिरी, रघुजी पन्त, दिलेन्द्रप्रसाद बडू, विद्या भट्टराई, रामहरि खतिवडाले प्रश्न सोधेका थिए ।

राप्रपा सांसद ज्ञानेन्द्रबहादुर शाहीको प्रश्न 
पेन्सन र प्रहरीको तलब दिन नसक्ने स्थिति चार महिनादेखि देखा परेको छ तपाईंको समाधान के छ। पूर्व माओवादी लडाकुलाई राज्यकोषबाट वितरण भएको रकममा व्यापक भ्रष्टाचार भएको आरोप छ ? तपाई संसदको विशेष समिति गठन गरेर यसको छानविन गर्न तयार हुनुहुन्छ ?

प्रधानमन्त्रीको जवाफ
शान्ति प्रक्रिया र सङ्क्रमणकालीन न्याय सम्बन्धी सबै बाँकी कामहरू वृहत् शान्ति सम्झौताको मर्म र भावना अनुसार समाधान गर्न सरकार दृढ र प्रयत्नशील छ। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग र सत्य निरूपण तथा मेलमिलाप आयोगको सिफारिस समेतका आधारमा जनयुद्ध र जनआन्दोलनका घाइते र अपाङ्गता भएका व्यक्तिको पुनः स्थापना र परिपूरणको कार्यलाई प्राथमिकताका साथ अगाडी बढाइनेछ। र, यसै सदनमा रहेको बेपत्ता पारिएका व्यक्तिको छानबिन र दुवै आयोग सम्बन्धी विधेयक संशोधन प्रक्रियामा छ। मैले सरकारको तर्फबाट यो विषयमा वृहत् राजनीतिक सहमतिको निम्ति निरन्तर प्रयास गरेको कुरा पनि म यहाँ जानकारी गराउन चाहन्छु। द्वन्दकालीन विषयका मुद्दाहरूमा सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिई उचित निष्कर्षमा पुर्याउन पनि म सदनसँग अनुरोध गर्न चाहन्छु।

प्रकाशित मिति : २०८० जेष्ठ ५ गते, शुक्रबार


Scroll to Top

Janata Media