बैतडी । बैतडीको पाटन नगरपालिका ८ की चन्तरा महराको उमेर ६१ वर्ष पुग्यो । तर उनी अहिले १ कक्षामा भर्ना भएकि छन् । उनी आफ्नो नाती नातिनासंगै नियमित रुपमा दैनिक विद्यालय जान्छिन् ।
सुरुसुरुमा नाती नातिनीहरूलाई पुर्याउन विद्यालयसम्म आउने गरेकी चन्तरा अहिले बढ्न थालेकि छन् । गत वैशाखमा जनता मावि आरुबाटामा चन्तरा कक्षा १ मा भर्ना भएको विद्यालयका प्रधानाध्यापक राम कुँवरले बताए ।
उमेरले नेटो काट्नै लागेको भए पनि बालबालिका झैँ भएर पढ्न थालेकी हुन् । उनी अहिले कविता पढ्ने, पढाउने र अक्षर चिनारी सिकिरहेकी छन् । विद्यालयका शिक्षकहरूले पढ्न सुझाव दिएपछि आफु पनि भर्ना भएको उनले बताईन् ।
‘सरहरूले आमा तपाई पनि नाम लेख्न सम्म त सिक्नुहोला पढ्नुस् भन्नुभयो, मैलेपनि भर्ना गरेर पढाई सुरु गरेकी हुँ । अहिले अक्षर चिन्न सके, १ कक्षामा पढाइने धेरै कुरा सिकिसकेँ ।’ उनले भनिन् ।
उमेर छँदै पढ्न नपाउँदा उहाँलाई अहिले ठूलो पछुतो छ । चन्तराका लागि विद्यालयबाट पुस्तक, कापी, कलम लगायतका आवश्यक सामाग्री उपलब्ध गराइएको छ । पढाइलाई अझै अघि बढाउने उनको धोको पनि छ ।
पढाइबारे घरपरिवार र समाजबाट पनि उनले सकारात्मक सल्लाह र सुझाव पाइरहेकी छन् ।