यसपटक साउनमा दुर्लभ संगोग, आठवटा सोमबार र ४ प्रदोष व्रत जुर्यो

चक्र दानी
२०८० श्रावण १ गते, सोमबार

काठमाडौं । साउनको व्रत बस्नेहरुका लागि यस पटक आठ वटा सोमबार परेको छ । साउन महिनाको पहिलो सोमबार आज परे पनि यस पटक तिथिले साउनको सोमबार असार २५ गते नै परेको थियो ।

यसपटक साउन २ गतेदेखि अधिकमास परेकोले शुद्ध श्रावण कृष्ण पक्षमा असार २५ र साउन १ गते तथा शुद्ध श्रावण शुक्ल पक्षमा भदौ ४ र ११ गते सोमबार परेको छ । साउन ८, साउन १५, साउन २२ र साउन २९ गते परेका सोमबार अधिमास अवधिका हुन् ।

सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास पर्दा साउनको सोमबार आठवटा हुने पुगेको हो । चन्द्रमासअनुसार दुई वटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसपटक साउन महिना आगामी भदौ १४ गते बिहीबारसम्म पर्ने पनि समितिले उल्लेख गरेको छ ।

साउन महिनालाई भगवान शिवको प्रिय महिना मान्ने गरिन्छ । यही मान्यताका कारण पनि साउनमा विशेष व्रत वसी माछामासु मदिराबाट टाढा रहेर सात्विक भोजन ग्रहण गरेर ब्रत बस्ने चलन छ ।

गुरुपूर्णिमाको ठीक एक महिना पछि आउने जनैपूर्णिमा यो वर्ष दुई महिनामा पर्नेछ । यसपटक साउन महिना कुल ५८ दिनसम्म रहने पनि पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । यसकारण साउनका ८ सोमबार र ४ वटा प्रदोष व्रत गरी साउने शिवरात्रि पर्व मनाइने भएको छ । साउनको अन्तिम सोमबार व्रत र प्रदोषको दुर्लभ संयोग पनि यसपटक जुरेको छ ।

साउनमा व्रत बस्दा भगवान शिव चाँडै खुसी भएर वर दिने विश्वास र मान्यता नेपाली समाजमा छ । यही कारण पनि भगवान शिवलाई आशुतोष भनेर सम्बोधन गर्ने र पूज्ने चलन पनि छ ।

साउनको सोमबार पशुपतिनाथसहित देशभरका शिव मन्दिर र शिवायलहरुमा भक्तालुको भीड लाग्ने गर्दछ ।

प्रकाशित मिति : २०८० श्रावण १ गते, सोमबार


Scroll to Top

Janata Media