काठमाडौँ । हुम्लाको खार्पुनाथ गाउँपालिका वडा नम्बर ४ र ५ को खार्पुको नल्नमा रहेका दुईओटा पुलमध्ये एउटा पुरानो पुल हटाईएको छ । जनता मिडियामा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा कतै तुहिनकै भरमा वारपार गर्नुपर्ने बाध्यता रहेको तर कतै एकै ठाउँमा दुईओटा पुल बनाएको भन्दै व्यापक असन्तुष्टि पोखिएपछि हटाईएको हो ।

खार्पूनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावलले जनता मिडियामा समाचार प्रकाशन भएपछि सामाजिक सञ्जालमा भिम उपाध्याय लगायत थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुको व्यापक असन्तुष्टि आएपछि उक्त पुरानो गाउँपालिकाले हटाएको जानकारी दिए । उनले भने, ‘पहिलो पटक जनता मिडियामा समाचार प्रकाशन भईसकेपछि सामाजिक सञ्जालमा भिम उपाध्याय लगायत धेरै व्यक्तिहरुको चर्को दवाब आईसकेपछि हामी हटाउन बाध्य भयौँ ।’

यसअघि जनता मिडियामा पहिलो पटक २०७९ पुष १६ गते, शनिबार कतै तुहिन कै भरमा कर्णाली वारपार, कतै एकै ठाउँमा दुईओटा पुल शिर्षकमा समाचार प्रकाशन भएको थियो । त्यसपछि सामाजिक सञ्जालमा यो विषयलाई लिएर नेपाल सरकारका पूर्व सचिव भिम उपाध्याय लगायत थुप्रै सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले यो विषयलाई उठान गरेका थिए ।







