केदारनाथ पहिरो अपडेट: कालिकोटका बेपत्ता तीन जनाको शव फेला

जनता संवाददाता
२०८० श्रावण ३१ गते, बुधबार

काठमाडौँ । साउन १९ को राति पहिरोमा परी भारतको उत्तराखण्ड राज्यअन्तर्गत केदारनाथ मार्गको गौरीकुण्डमा जुम्लाका ११ र कालिकोटका तीनसहित १४ नेपाली बेपत्ता भएका थिए। तीमध्ये कालिकोटको खाँडाचक्र नगरपालिकाका तीनजनाको शव फेला परेको छ।

गौरीकुण्डमा होटल बगाउँदा बेपत्ता भएका जुम्लाका ११ जना अझै फेला परेका छैनन्। केदारनाथ क्षेत्रमा नेपाली दुर्घटनामा परेको यो पहिलोपटक होइन। बर्सेनि मानवीय क्षति भए पनि जोखिमपूर्ण मानिएको केदारनाथमा मजदुरी गर्न जानेको संख्या भने बढिरहेको छ।

‘काम र ठाउँ जोखिमपूर्ण भए पनि भारतका अन्य ठाउँभन्दा कमाइ राम्रो छ’, पलाँता-४ का कमल बमले टेलिफोनमा भने, ‘अन्यत्र एक वर्षमा हुने आम्दानी यहाँ महिना दिनमै हुन्छ।’ कमाइ राम्रो हुने भएपछि कालिकोटका वासिन्दाको केदारनाथतिर आकर्षण बढेको हो। यहाँबाट स्थानीय प्रशासनको सिफारिस बनाएरै गएका छन्।

प्रकाशित मिति : २०८० श्रावण ३१ गते, बुधबार


Scroll to Top

Janata Media