आँखा अस्पतालसँगको सहकार्यमा चंखेली गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालनमा ल्याउने

जनता संवाददाता
२०८० भाद्र ४ गते, सोमबार

हुम्ला । हुम्लाको चंखेली गाउँपालिकाको केन्द्र पिप्लाङमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको छ । हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोग र चंखेली गाउँपालिकाको व्यवस्थापनमा आँखा उपचार केन्द्र सञ्चालन हुने भएको हो ।

आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालयन आँखा अस्पताल घारीपाटन पोखरा र चंखेली गाउँपालिकाबिच समझदारी भएको हो । चंखेली गाउँपालिकाका तर्फबाट अध्यक्ष प्यारीलाल शाही र हिमालयन आँखा अस्पतालका तर्फबाट डाइरेक्टर डा. ईलिया श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

उक्त समझदारी ५ वर्ष सम्मका लागि लागु हुने उल्लेख गरिएको छ ।

उपचार केन्द्र स्थापना गर्नको लागि आईकियर फाउन्डेसन नेपालका प्रमुख अनिल गोर्खाली, चिफ मेडिकल डाइरेक्टर डा. ईलिया श्रेष्ठ, आईकियर फाउन्डेसनका सिईओ BJORN STENVERS को अतुलनिय योगदानबाट आवश्यक उपकरणहरू हस्तान्तरण गरी पालिकामा आँखा उपचार केन्द्र स्थापनामा सहयोग गरेकोमा अध्यक्ष शाहीले सम्पूर्णलाई धन्यवाद दिएका छन् ।

उत्त गाउँपालिकाको केन्द्रमा आँखा अस्पताल स्थापना भए पछि जिल्लाकै पहिलो आँखा अस्पताल हुने भएको छ । जिल्लाका आँखाका बिरामीले समेत जिल्लामै आँखाको उपचार गर्न पाउने भएका छन् ।

यस्तो छ समझदारी पत्र

आँखा उपचार सेवालाई बिस्तार गरि सक्दो धेरै मानिसहरुको पहुँचसम्म पुन्याउने उद्देश्यका साथ हुम्ला जिल्लाको चंखेली गाउँपालिका अन्तरगत चंखेली गाउँपालिकाको कार्यालयमा, वडा नं. ४, पिप्लानमा आँखा उपचार केन्द्र सञ्चालनका लागि हिमालय आँखा अस्पतालका तर्फबाट मेडिकल डाइरेक्टर डा. ईलिया श्रेष्ठ (यसपछि प्रथम पक्ष भनिने) र हुम्ला जिल्लाको चंखेली गाउँपालिकाको तर्फबाट चंखेली गाउँपालिका अध्यक्ष श्री प्यारीलाल शाही (यसपछि दोस्रो पक्ष भनिने) का बिच देहायका शर्तहरु पालना गर्नेगरी आज मिति २०८०/०५/०४ गते यस समझदारी पत्रमा हस्ताक्षर गरी एक एक प्रति लियौं दियौं । यो समझदारी पत्र ५ वर्षको लागि हुने र पछि पुनः नविकरण गरिदै लगिने छ ।
यस समझदारी पत्रका उद्देश्यहरु :
१. आँखा उपचार सेवा विस्तार गरी आम जनसमुदायको पहुँच अभिवृद्धि गर्नु।
२. आँखा उपचार सम्बन्धि सेवा अभिवृद्धि गर्न सहकार्य गर्नु ।
३. चंखेली गाउँपालिकाको कार्यालयमा, वडा नं. ४, पिप्लांगमा आँखा जाँच कक्ष स्थापना गरि नियमित रुपमा सेवा प्रदान गर्नु ।
४. प्रथम पक्ष र दोस्रो पक्षले पालना गर्नु पर्ने विभिन्न नियम तथा शर्तहरुको बारेमा स्पष्ट हुन ।
५. प्रथम पक्ष र दोस्रो पक्षको भुमिका, अधिकार तथा दायित्वहरुको वारेमा प्रष्ट पार्नु ।
६. स्थापित आँखा उपचार केन्द्रलाई दिगो रुपमा सक्षम बनाई राख्न आवश्यक अन्य पहल गर्ने ।

शर्त तथा नियमहरु
उल्लेखित उद्देश्यहरु प्राप्तीका लागि यस समझदारी पत्रमा हस्ताक्षर गर्ने हामी दुई पक्षहरु तपशिलमा उल्लेखित शर्त तथा नियमहरु पालना गर्न प्रतिबद्ध छौं ।
१. केन्द्रको स्थापना :आँखा उपचार केन्द्रको स्थापनाका लागि दोस्रो पक्षले आवश्यक भवन र कोठा तथा फर्निचर उपलब्ध गराउने छ । साथै प्रथम पक्षले स्थापनाका लागि आवश्यक उपकरण तथा औजार उपलब्ध गराउने छ ।
२. मानव शंसाधन :आँखा उपचार केन्द्र सञ्चालनका लागि आवश्यक मानव शंसाधनको व्यवस्था दोस्रो पक्षले गर्नेछ र त्यसको छनौट प्रकृयाका लागि प्रथम पक्षले दोस्रो पक्षलाई आवश्यक सहयोग गर्नेछ । साथै मानव शंसाधनको वृत्ति विकासका लागि विभिन्न तालिम तथा अन्य कार्यक्रमहरुमा सहभागिताका लागि प्रथम पक्षले पहल गर्नेछ ।
३. आर्थिक पक्ष सम्बन्धि व्यवस्था :केन्द्रको दैनिक आम्दानी तथा खर्चको हिसाब किताब दोस्रो पक्षले गर्नेछ । उपचार केन्द्रको दैनिकरुपमा सञ्चालन गर्दा लाग्ने खर्चको सम्पूर्ण जिम्मेवारी दोश्रो पक्षले गर्नेछ । केन्द्रको आवश्यकता अनुसार थप गर्नु पर्ने अन्य उपकरण उक्त केन्द्रको आम्दानीबाट खरिद गर्न सकिने छ ।
४. केन्द्रको विकास, विस्तार तथा स्थायित्व :केन्द्रको स्थायित्व तथा दिगो विकासका लागि दोस्रो पक्षले योजना बनाउने तथा त्यको कार्यान्वयन गर्नेछ ।
५. मासिक प्रतिवेदन पठाउनु पर्ने :केन्द्रले प्रथम पक्षलाई मासिक रुपमा केन्द्रको गतिविधि समावेश गरी मासिक प्रतिवेदन पठाउनु पर्नेछ ।
६. प्रथम पक्षले आवश्यकता अनुसार आखा जाच शिविर, विद्यालय आँखा जाच शिविर, आंखा शल्यक्रिया शिविर गर्नेछ भने स्थानिय व्यवस्थापनमा दोश्रो पक्षले गर्नुपर्नेछ ।
७. केन्द्र बन्द हुने अवस्था : कुनै कारणवस केन्द्र बन्द हुने अवस्था आएमा केन्द्रमा रहेका यन्त्र, उपकरण प्रथम पक्षले फिर्ता लैजानेछ ।
८. अन्य व्यवस्था :
क) हिमालय आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित आंखा उपचार केन्द्र भनि बोर्डमा लेख्नु पर्नेछ ।
ख) केन्द्रमा कार्यरत कर्मचारी विदामा बसेमा केन्द्रको नियमित सञ्चालनका लागि विदा अवधिभर प्रथम पक्षले कर्मचारी उपलब्ध गराउने छ । सो कर्मचारीको यातायात तथा भत्ता दोस्रो पक्षले दिनुपर्ने छ ।
ग) कर्मचारीको तलब भत्ता लगायलको सेवा सुविधाको व्यवस्था दोस्रो पक्षले गर्नेछ ।
घ) अन्य कुनै विषयहरुमा दुवै पक्षको छलफलको सहमति अनुसार हुनेछ ।
ड) प्रथम पक्षले आवश्यक ठानेमा कुनै पनि बेला केन्द्रको निरिक्षण गर्न सक्नेछ । समय समयमा प्रथम पक्षले दिएको निर्देशन दोश्रो पक्षले पालना गर्नु पर्नेछ ।

यस सहमति पक्षमा हस्ताक्षर गर्न दुवै पक्षले केन्द्रको सञ्चालन एवं अन्य विषयहरुमा समिक्षा गर्न तथा आवश्यक निर्णय गर्न वर्षको एकपटक वा आवश्यकताअनुसार बैठक गर्नेछन् । कथम कदाचित कुनै एक पक्षको निर्णयको कारणले केन्द्र बन्द गर्नुपर्ने अवस्था वजना भएमा बन्द गर्ने निर्णय गर्ने पक्षले अर्को पक्षलाई कम्तिमा तिन महिना अवागै जानकारी गराउनु पर्नेछ ।

माथि उल्लेखित भुमिकाहरु पुरा गर्न हामी दुवै पक्ष सहमत छौं भनि यो समझदारी पत्रमा हस्ताक्षर गरेका छौं ।

प्रकाशित मिति : २०८० भाद्र ४ गते, सोमबार


Scroll to Top

Janata Media