
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ललिता निवास जग्गा प्रकरणमा संलग्न रहेको भनिएका पूर्व प्रधानमन्त्रीलाई सरकारले छानबिनको दायरामा नल्याएको भन्दै आपत्ति जनाएका छन्।
बुधवार बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै उहाँले यस्तो बताएका हुन्। उनले वर्तमान सरकारको सुशासन आफ्ना मान्छेहरू पर्न थालेपछि सुनपानी छर्केर चोख्याउनेमा बितेको आरोप लगाए।
उनले सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै सरकार सुस्ताएको बताए। उनले सरकारको सुशासन आफ्नो ढोकासम्म आउनेमा मात्रै सीमित रहेको बताए।
उनले भने, ‘शंकको सुविधा दिइरहँदा सरकारले भनिरहेको सुशासन कहाँसम्मको सुशासन हो ? आफ्नो ढोकासम्म त्यो आरोप नआइपुग्दासम्मको सुशासनको कुरा हो की साँच्चिकै सुशासनको कुरा हो रु भुटानी शरणार्थी प्रकरणमा जतिपनि प्रहरी अधिकारी काम गरिरहेका थिए, तिनको सरुवा भयो। सुशासनको यो प्रमाण पर्याप्त छैन र सरकारमाथि शङ्का गर्न ? ललिता निवास प्रकरणमा नम्बरी जग्गा लिएका, मालपोतमा कागज पत्र सबै हेरेका, पैसा दिएर किनेका मानिसहरू र कर्मचारीहरू जहाजको सिटबाट समातेर थुनिए, निर्णयकर्तालाई सुनपानी छर्किएजसरी चोख्याएर पठाइयो। सरकारको सुशासन यही हो र ? सुन प्रकरणमा सत्तारुढ दलका नेताहरूको नाम आउने बित्तिकै सरकार सुस्तायो। सरकारले भन्न खोजेको प्रकरण, दिन खोजेको सुशासन यही हो ?’
सभापति लामिछानेले फरेन्सिक ल्याबबाट सुन प्रकरणमा पक्राउ परेका दाबा लामाको फोन रेकर्ड संसदीय समिति र संसद्ले हेर्न पाउनुपर्ने माग गरे।