मध्यपश्चिम विश्वविधालयले वृद्धि विकासमा ध्यान नदिए आन्दोलन गर्ने प्राध्यापकहरुको चेतावनी

जनता संवाददाता
२०८० चैत्र १८ गते, आईतवार

सर्जन कुमार शाही, मुगु । मध्यपश्चिम विश्व विद्यालयबाट सम्बन्धन प्राप्त देशभरीका विभिन्न जिल्लाहरुका क्याम्पसहरुमा कार्यरत प्राध्यापकहरुले आफुहरुको वृद्धि विकासमा विश्व विद्यालयले ध्यान नदिएको भन्दै प्रेस विज्ञप्ति मार्फत आन्दोलन गर्ने चेतावनी सार्वजनिक गरेका छन् ।

रारा क्याम्पस प्राध्यापक संघ मुगुका सभापति हिरा बोहोराद्वारा हस्ताक्षरित आइतवार जारी गरिएको विज्ञप्तिमा भनिएको छ, “विश्व विधालयको आठौ सिनेटले पास गरि कार्यान्वयनमा ल्याएको नियमावलीमा मातहतका क्याम्पसमा कार्यरत आंशिक तथा करार प्रध्यापकहरुको वृद्धि विकासका लागि आन्तरिक प्रतिस्पर्धा गराइ स्थायी गरिने र दुर्गम,पिछडिएका जिल्लाहरुमा कार्यरत प्राध्यापकहरुलाई राज्यले दिएको दुर्गम भत्ता दिने प्रावधान भएपनि लामो समयसम्म आंशिक तथा करारमा कार्यरत प्राध्यापकहरुलाई यी सुविधा नदिएकाले हामी अन्तिम आन्दोलन गर्न बाध्य हुने छौ ।”

पटक पटक क्यापस प्रशासन र एमयुलाई यस विषयमा मौखिक तथा लिखित ध्यानाकर्षण गर्दा आश्वासन मात्र दिने गरेको विज्ञप्तिमा आरोप लगाइएको छ ।

मध्यपश्चिम विश्व विधालयको आगामी बस्ने सिनेटको बैठकले लोड पुगेका आंशिक प्राध्यापकलाई करार, समायोजनका बेला अस्थायिमा रहेका प्राध्यापकहरु र अन्य करार प्राध्यापकहरुलाइ विशेष आन्तरिकबाट स्थायी, घटुवामा परेका प्राध्यापकहरुलाइ सोही पदमा पुनर्वहाली र समय पुगेकाहरुलाइ बढुवा प्रक्रिया लैजाने गरि सम्बोधन गर्न पनि माग गरिएको छ ।

आफ्ना मागहरुप्रति नजर अन्दाज गरि सम्बोधन नगरिएमा सिनेट पश्चात् आन्दोलनका कार्यक्रमहरु घोषणा गरि पेशागत वृद्धि विकासका लागि कडा भन्दा कडा आन्दोलन गर्ने र यो आन्दोलनमा ऐक्यबद्धता जनाउन संघ, सस्था, विद्यार्थी, समाजसेवी, पत्रकार, शिक्षाप्रेमी, वुद्धिजिवीलाई प्रध्यापकहरुले आव्हान गरेका छन् । देशभरी मध्यपश्चिम विश्व विधालयबाट सम्वन्धन पाएका १० वटा क्याम्पसहरु रहेका छन ।

मुगु स्थित रारा बहुमुखी क्याम्पस र बाके स्थित बागेश्वरी बहुमुखी क्याम्पसमा गठित प्राध्यापक संघहरुले आइतबार विज्ञप्ती निकाले पनि अन्य क्याम्पसका प्राध्यापक संघहरुले क्रमश विज्ञप्ति सार्जजनिक गर्ने रारा क्याम्पसमा कार्यरत प्राध्यापक हिरा बोहोराले जानकारी गराईन् ।

प्रकाशित मिति : २०८० चैत्र १८ गते, आईतवार


Scroll to Top

Janata Media