सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छः प्रधानमन्त्री प्रचण्ड

जनता संवाददाता
२०८० भाद्र ९ गते, शनिबार

वीरगञ्ज । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको बताएका छन् । वीरगञ्जमा सम्पन्न समाजवादी मोर्चाको सन्देश सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रधानमन्त्री प्रचण्डले भने, ‘‘सरकार सुशासन, समाजवाद र समृद्धिको यात्रामा अघि बढेको छ। अब यसबाट सरकार पछि हट्दैन।”

उनले पुराना एजेण्डा र पुरानो विचारले लड्न नसकिने भएकोले र जनतालाई समाजवादको यात्राका डोर्याउन समाजवादी मोर्चा बनाएको समेत प्रष्ट पारे।

उनले भने, ‘‘यतिबेला जनयुद्ध र मधेस आन्दोलमा होमिएका पुराना पार्टी र पुराना नेतालाई लक्षित गरी विभिन्न सामाजिक सञ्जालहरुबाट भ्रामक कुरा प्रचारप्रसार भइरहेको छ, खासगरी क्रान्तिकारी नेता र क्रान्तिकारी पार्टीका विरुद्ध ठूलो प्रपञ्च भइरहेको छ।” उनले पछिल्लो समय सामाजिक सञ्जालबाट जनयुद्ध र मधेस आन्दोलनलाई बदनाम गर्ने कार्य भइरहेको प्रति दुःख व्यक्त गरेका छन् ।

‘अब राम्रो बाहेक अरु गर्नुपर्ने मेरो कुनै कारण छैन’
प्रधानमन्त्री प्रचण्डले अब राम्रोबाहेक अरु काम गर्नुपर्ने आफ्नो कुनै कारण नरहेको बताएका छन् । उनले जीवनको उत्तरार्धमा नेपाली जनताले सम्झने गरी केही राम्रा काम गर्न सकिने विचार व्यक्त गरे ।

पीडितहरु शासन गर्ने स्थानमा आएपछि पहिले सामन्ती शासकले यिनीहरुलाई हटाउनुपर्छ भनी जाइलाग्ने गर्दछन् भन्ने भनाइलाई स्मरण गर्दै प्रधानमन्त्री प्रचण्डले क्रान्ति गर्नुभन्दा क्रान्तिबाट प्राप्त उपलब्धिलाई स्थापित गराउन कठिन हुने दाबी गरे ।

आफूले दुई-दुई पटक संविधान संशोधनको प्रस्ताव लगे पनि अन्य दलले साथ नदिएकाले संशोधन गर्न नसकिएको भन्दै उनले सदन, सडक सरकारका तीनवटै मोर्चाबाट यो संविधानलाई अझ परिमार्जन संशोधनसहित पूर्णतातिर लैजाने उनले दाबी गरे।

सरकारले केही पनि गरेन, केही पनि भएन भन्ने कुरा साँचो नभएको जनाउदै उनले सुशासन, सामाजिक न्याय र समृद्धिलाई मुख्य कार्यभार बनाएर सरकार अगाडि बढेको प्रष्ट पारे।

शिक्षा ऐनमा नयाँ ढङ्गले जाने, नर्सिङ शिक्षाको एउटा नयाँ योजना र अभियानसहित जाँदै गरेको बताउदै उनले सामाजिक न्याय सुशासन र समृद्धिका निम्ती केही ठोस काम गरेको दाबी गरे।

प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार


Scroll to Top

Janata Media