नाग्दीखोलामा पहिरो जाँदा पृथ्वीराजमार्ग अवरुद्ध

जनता संवाददाता
२०८० भाद्र ९ गते, शनिबार

मुग्लिन । पृथ्वी राजमार्गको नाग्दी खोलामा गएको पहिरोका कारण राजमार्ग अवरुद्ध भएको छ । इलाका प्रहरी कार्यालय मुग्लिङका अनुसार शुक्रवार साँझ पौने ७ वजेतिर पहिरो खसेर राजमार्ग अवरुद्ध भएको हो ।

चितवनको ईच्छाकामना गाउँपालिका –४ मा पर्ने नाग्दी खोला मुग्लिनभन्दा करिव तीन किलोमिटर कुरिनटारतर्फ पर्छ । माथिबाट ठूलो चट्टानसहितको पहिरो खसेर बाटो दुईतर्फी अबरोध भएको प्रहरी नायव उपरीक्षक विजय पण्डितले जानकारी दिए ।

अहिले डिभिजन सडक कार्यालयका उपकरणहरु प्रयोग गरी सडक खुलाउने काम भइरहे पनि पानी परिरहेका कारण बाटो खुलाउन समस्या भएको पण्डितको भनाइ छ । यसअघि नारायणगढ मुग्लिन सडकमा पहिरोले अवरुद्ध गरे पनि यो पटक पृथ्वी राजमार्गमा पहिरोले अवरोध गरेको हो ।

राजमार्ग अवरोध भएपछि अहिले मुग्लिन–कुरिनटारमै सवारी साधन रोकिएको छ । राजमार्गमा अहिले यात्रु र सवारी साधन अलपत्र रहेको प्रहरीको भनाइ छ । पहिरो पन्छाउने प्रयास पनि भइरहेको बताइएको छ ।

प्रकाशित मिति : २०८० भाद्र ९ गते, शनिबार


Scroll to Top

Janata Media