नेपाल पाकिस्तानसँग २३८ रनले पराजित

जनता संवाददाता
२०८० भाद्र १४ गते, बिहीबार

काठमाडौं । नेपाल एसिया कप क्रिकेटको पहिलो खेलमा घरेलु टोली पाकिस्तानसँग दुई सय ३८ रनले पराजित भएको छ ।

मुल्तान क्रिकेट रङ्गशालामा बुधबार भएको खेलमा जितका लागि तीन सय ४३ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको नेपाल २३.४ ओभरमा सबै विकेटको क्षतिमा एक सय चार (१०४) रनमा समेटियो । नेपालले पाकिस्तानको सिनियर टोलीसँग पहिलो पटक एकदिवसीय खेल खेलेको हो ।

कमजोर ब्याटिङ गरेको नेपालका लागि सोमपाल कामीले सर्वाधिक २८ रन बनाए । यस्तै आरिफ शेखले २६ र गुलशन झाले १३ रन जोड्नु बाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन जोड्न सक्नुभएन । नेपालले १४ रन जोड्दा सुरुवाती तीन ब्याट्सम्यान गुमाएको थियो ।

बलिङमा पनि सानदार प्रदर्शन गरेको पाकिस्तानका लागि सदाब खानले चार विकेट लिए । शाहिन शाह अफ्रिदी र ह्यारिस रौफले दुई दुई तथा नसिम शाह र मोहम्मद नवाजले एक एक विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले ५० ओभरका ६ विकेटको क्षतिमा तीन सय ४२ रन बनाएको थियो । पाकिस्तानका लागि बाबर आजम र इफ्तिखर अहमदले शतकीय पारी खेले ।

बाबरले एक सय ५१ र इफ्तिकरले एक सय नौ रन बनाए । बाबरले एक सय ३१ बलमा १४ चौका चार छक्काको सहयोगमा उक्त रन बनाएका हुन् । इफ्तिखरले ७१ बलमा ११ चौका चार छक्काको सहयोगमा उक्त रन जोडेका हुन् ।

मोहम्मद रिजवानले ४४, फखार जमानले १४ रन बनाए । इमाम उल हक र अघा सलमान पाँच पाँच रनमा आउट भएका थिए । बलिङमा नेपालका सोमपाल कामीले दुई विकेट लिनुभयो । करण केसी र सन्दीप लामिछानेले एक एक विकेट लिए ।

नेपालले समूहको अर्को खेल सेप्टेम्बर ४ तारिख भारतसँग श्रीलङ्कामा खेल्नेछ । एसिया कपमा नेपाल, भारत र पाकिस्तान समूह ‘ए’ मा छन् । समूह ‘बी’ मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।

समूहको शीर्ष दुई टोली सुपर चारमा प्रवेश गर्नेछन् । सुपर चारको शीर्ष दुई टोलीबिच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । एसिया कपको आयोजक पाकिस्तान भए पनि अधिकांश खेलहरु श्रीलङ्कामा सञ्चालन हुँदैछ । भारतले पाकिस्तान गएर खेल्न अस्वीकार गरेपछि एसिया कपका खेल पाकिस्तान र श्रीलङ्कामा सञ्चालन गरिएको हो ।

प्रकाशित मिति : २०८० भाद्र १४ गते, बिहीबार


Scroll to Top

Janata Media