एमालेले तीन महिना वडाकेन्द्रित अभियान चलाउने

जनता संवाददाता
२०८१ पुष १ गते, सोमबार

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित स्थानीय तहमा पार्टी कामका समस्या र समाधान विषयक दुई दिने राष्ट्रिय कार्यशाला गोष्ठी आइतबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्पन्न भएको छ ।

देशभरिबाट पार्टीका कार्यकारी जिम्मेवारीमा रहेका प्रदेश, जिल्ला जनसंगठन र तोकिएका जनप्रतिनिधिहरूसहित तीनसय जनाको सहभागितामा सम्पन्न राष्ट्रिय भेलाले विभिन्न ६ बुँदे घोषणापत्र जारी गरेको छ ।

राष्ट्रिय कार्यशालाले एमालेलाई निर्णायक राष्ट्रिय शक्ति निर्माणका लागि माघदेखि चैतसम्म तीन महिने वडा केन्द्रित अभियान सञ्चालन गर्ने सङ्कल्प गरेको छ । त्यस्तै, आधारभूत तहसम्म कमिटी निर्माण गर्ने र सदस्यता विस्तार सँगसँगै जनतासँग जनसंगठन अभियान सञ्चालन गर्ने सङ्कल्प कार्यशालाले गरेको छ ।

कार्यशालाले २०८२ सालको पार्टी सदस्यता नवीकरण २०८१ को चैत्र महिनाभित्र विधिसम्मत र प्रक्रिया सम्मत ढङ्गले सम्पन्न गर्ने सङ्कल्प गरेको छ । यसै वर्षभित्र सम्पूर्ण पार्टी सदस्यहरूलाई अनलाइनमा ल्याउने सङ्कल्प पनि बैठकले गरेको छ।

आगामी चैत महिनासम्ममा राष्ट्रिय युवा महोत्सवको आयोजना गर्न कार्यशालाले पार्टी केन्द्रसँग आग्रह गरेको छ । कार्यशालाले पार्टी र नेतृत्वका विरुद्धका षडयन्त्र र कुप्रचारको जमेर प्रतिवाद गर्दै पार्टी नीति, नेतृत्व र राजनीतिक कार्यदिशालाई जनताबिच स्थापित गर्ने सङ्कल्प गरेको छ ।

कार्यशालामा पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन गरेका थिए । यसैगरी पार्टीका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोख्रेल पनि कार्यशालालाई सम्बोधन गरेका थिए।

कार्यशालाको पहिलो दिन पार्टी महासचिवले पार्टी केन्द्रले बनाएको वार्षिक कार्य योजनाको अभिमुखीकरण गर्नु भएको थियो भने संगठन विभागका प्रमुख काशीनाथ अधिकारीले कार्यशालाको मुख्य विषयको रूपमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यशालाका सहभागीलाई १० वटा समूहमा विभाजन गरी छलफल गरिएको थियो । समूह छलफलमा प्रदेशका इन्चार्जहरू र संगठन विभागका सदस्यहरूले सहजीकरण गरेका थिए ।

कार्यशालाको दोस्रो दिन समूहगत छलफलको प्रतिवेदन पेश गरिएको थियो । समूहगत प्रस्तुतिका समयमा पार्टीका अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, महासचिव र प्रदेशका इन्चार्जहरूको उपस्थिति रहेको पार्टी संगठन विभाग सचिव माधवप्रसाद ढुङ्गेलले जानकारी दिए ।

प्रकाशित मिति : २०८१ पुष १ गते, सोमबार


Scroll to Top

Janata Media