संवादमार्फत सीमा विवाद सुल्झाउँछौँ : परराष्ट्र मन्त्री साउद

जनता संवाददाता
२०८० भाद्र १७ गते, आईतवार

काठमाडौँ । परराष्ट्रमन्त्री नारायणप्रसाद (एनपी) साउदले कूटनीतिक संवादको माध्यमबाट सरकारले छिमेकी देशसँगको सीमा विवाद सुल्झाउने बताएका छन् । नेपाल प्रेस युनियन ओखलढुङ्गा शाखाले आइतबार जिल्ला सदरमुकाममा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री साउदले यस्तो बताएका छन ।

चीनले सोमबार जारी गरेको आफ्नो देशको नयाँ नक्सामा नेपालको लिपुलेक, कालापानी र लिम्पियाधुरा क्षेत्रलाई नसमेटेको सम्बन्धी विवादलाई सरकारले कसरी समाधान गर्छ भन्ने पत्रकारको प्रश्नमा मन्त्री साउदले वार्ता र कूटनीतिक संवादको माध्यमबाट यो विवाद समाधान गरिने बताए ।

परराष्ट्र मन्त्रालयले शुक्रबार एक विज्ञप्ति जारी गरेर नेपालको नक्सालाई छिमेकी तथा अन्तर्राष्ट्रिय समुदायले सम्मान गर्नुपर्छ भन्ने धारणा सार्वजनिक गरिसकेको समेत उनले जानकारी दिए ।

सन् २०२० मा नेपालको संसद्ले सर्वसम्मतिले पारित गरेको राजनीतिक एवम् प्रशासकीय नक्साप्रति नेपाल स्पष्ट र दृढ रहेको मन्त्री साउदको भनाइ छ । देशको सीमा मामिलालाई वार्ता र कूटनीतिमार्फत समाधान गर्न सरकार प्रतिबद्ध रहेको उनले बताए ।

फरक प्रसङ्गमा मन्त्री साउदले सरकारले छिमेकी तथा अन्तर्राष्ट्रिय राष्ट्रहरुसँगको सम्बन्धलाई थप प्रगाढ बनाउँदै मुलुकमा आर्थिक विकास र समृद्धि हासिल गर्ने काममा लागिरहेको बताए ।

सिद्धिचरण नगरपालिकाको नवनिर्मित भवनको उद्घाटनका लागि मन्त्री साउद ओखलढुङ्गा आएका छन्  । पत्रकार सम्मेलनमा राज्यव्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा र कोशी प्रदेश सरकारका प्रवक्ता प्रदीपकुमार सुनुवार सहभागी भएका थिए ।

 

प्रकाशित मिति : २०८० भाद्र १७ गते, आईतवार


Scroll to Top

Janata Media