वन्यजन्तुकोे आक्रमणबाट एक महिलाको मृत्यु

जनता संवाददाता
२०८२ श्रावण ३१ गते, शनिबार

काठमाडौं । बर्दियाको गुलरिया नगरपालिका-११, भैँसाही स्थित वन्यजन्तुको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । वन्यजन्तुले आक्रमण गर्दा सोही ठाउँ बस्ने ४५ वर्षीय जगतरानी थारूको मृत्यु भएको हो ।

धान गोड्नका लागि शुक्रबार साँझ मृतक जगतरानी खेतमा  गएका थिए। राति अबेर सम्म घर नआएपछि कसैको घरमा बसेको भनेर खोजबिन गरिएको थिएन । शनिबार बिहानदेखि खोजबिन गर्दा उखुबारी भित्र शरिर र टाउको छुट्टिएको अवस्थामा मृतक थारूको शव फेला परेको थियो ।

थारूलाई उखुबारीबाट आएको चितुवाले आक्रमण गरेको हुन सक्ने स्थानीयले बताएका छन् । उखुबारीमा महिलाको शव फेला परेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए ।

शवको प्रकृति हेर्दा वन्यजन्तुले आक्रमण गरेर मृत्यु भएको हुन सक्ने प्रहरीले जनाएको छ । कुन जनावरले आक्रमण गरेको हो भन्ने पोस्टमार्टम रिपोर्ट पछि मात्र थाहा हुने जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक चक्रबहादुर डमरपालले बताए ।

शवको पोस्टमार्टम नगर्दासम्म कुन जनावरले आक्रमण गरेको भन्ने यकिनका साथ भन्न नसकिने डिभिजन वन कार्यालय बर्दियाका सुचना अधिकारी रामकुमार चौधरीले बताए । उनले शवको वरपर चितुवाको पाइला देखिएको बताए । शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल लगिएको छ ।

थारूमाथि आक्रमण भएको स्थान नदीको किनार र सामुदायिक वनको छेउमा पर्दछ । सो क्षेत्रमा चितुवा देखिने गरेको र पटक पटक सम्बन्धीत निकायलाई खबर गर्दा समेत चितुवा समात्न नआएको गुलरिया नगरपालिका(१२, सूर्यगौडीका साबिर अलि गद्दीले बताए ।

चितुवाले गाउँमा घरपालुवा जनावरलाई आक्रमण गर्ने गरेको उनले बताए । यसअघि बबई नदीको छेउमा पर्ने गुलरिया नगरपालिका वडा नं ५ मा चितुवाको आक्रमणबाट दुई जनाको मृत्यु भएको थियो ।

 

 

प्रकाशित मिति : २०८२ श्रावण ३१ गते, शनिबार


Scroll to Top

Janata Media