शंखरापुर स्कुल बस दुर्घटना: घाइतेहरू मध्य पाँच जना गम्भीर, ३४ सामान्य

जनता संवाददाता
२०८१ माघ ३० गते, बुधबार

काठमाडाैं । काठमाडाैंको शंखरापुर नगरपालिका–५ स्थित साँखु-नगरकोट सडकखण्डमा भएको बस दुर्घटनाका घाइतेहरु मध्य पाँच जनाको अवस्ता गम्भिर रहेको छ। ३४ जना सामान्य घाइते छन् भने तीन जनाको मृत्यु भइसकेको छ।

शनिबार अपराह्न करिब ४:५० बजे नगरकोटबाट फर्कँदै गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस साँखु-नगरकोट सडकखण्डमा दुर्घटनामा परेको हो।

चाबहिलस्थित एसएस एकेडेमीका विद्यार्थी बोकेको बस ब्रेक फेल भएर अनियन्त्रित भई दुर्घटनाग्रस्त भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

दुर्घटनामा घाइतेहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता अपिलराज बोहराका अनुसार टिचिङ अस्पतालमा उपचारका क्रममा एक घाइतेको मृत्यु भएका छ भने यहाँ उपचाररत एक जनाको अवस्था गम्भीर छ। बाँकी दुई जना सामान्य घाइते छन्।

यसैगरि शंखरापुर अस्पतालमा एकजनाको मृत्यु भएको छ। यहाँ तीन जना सामान्य उपचाररत छन्। नेपाल मेडिकल कलेजमा एक जनाको मृत्यु, चार जना गम्भीर र ९ जना मध्यम घाइते छन्।

पिपल लाइफ केयर अस्पतालमा २० जना सामान्य घाइतेको उपचार भइरहेको छ। बस चालकको स्तुपा अस्पतालमा उपचार जारी छ। उनको अवस्ता सामान्य छ।

दुर्घटनापछि प्रहरी निरीक्षक नविन चुडालको नेतृत्वमा १० जनाको टोली उद्धारका लागि घटनास्थल पुगेको थियो। प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

प्रकाशित मिति : २०८१ माघ ३० गते, बुधबार


Scroll to Top

Janata Media