काठमाडौं । संविधान लेखनमा अतुलनीय योगदान पुराउनु भएका संविधान सभाका अध्यक्ष सुवास नेम्बाङको ७१ वर्षको उमेरमा निधन भएको खबर सुन्न साथ शीर्ष नेताहरू अहिले महाराजगन्जस्थित शिक्षण अस्पताल पुगेका छन् ।
अहिले अस्पतालमा प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसहितका नेताहरू पुगेका छन् । संविधानविद एवम् कुशल राजनीतिज्ञ सुवासको हृदयाघातबाट निधन भएको हो ।
को हुन् सुवास ?
संविधान सभाका अध्यक्ष तथा नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ इलाम क्षेत्र २ बाट प्रतिनिधि सभा सदस्यका लागि निर्वाचित भए । उनी पाँचौं पटक विजयी बनेका हुन् । यस पटक नेम्वाङ ३० हजार २० मत प्राप्त गर्दै विजयी बने ।
नेम्वाङका निकटतम प्रतिस्पर्धी गठबन्धन तर्फका उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापति डम्बरबहादुर खड्काले २९ हजार ९०६ मत ल्याए । नेम्वाङ जम्मा ११४ मतको अन्तरले खड्कालाई पराजित गरे ।
नेम्बाङ २०५६ र ०७४ सालको संसदीय निर्वाचनमा विजयी बनेका थिए । यस्तै २०६४ र २०७० सालका दुुवै संविधानसभा निर्वाचनमा पनि इलाम क्षेत्र नं। २ बाटै विजयी भएका थिए । २०४८ र २०५१ सालमा नेम्वाङ राष्ट्रियसभा सदस्य समेत बनेका थिए ।
एक पटक संसद्को सार्वजनिक लेखा समिति अध्यक्ष समेत बन्नुभएका नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्थामन्त्री समेत भए । सभामुख र दुवै संविधानसभाका अध्यक्षको भूमिका निर्वाह गरेका नेम्वाङ नेपाल बार एसोसिएसनको महासचिवसमेत भएका थिए ।







