काठमाडौं । संविधान सभा अध्यक्ष सुवास नेम्वाङको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ। सरकारले नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभा अध्यक्ष नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो।
मंगलबार बसेको मन्त्रिपरिषदको आकस्मिक बैठकले आज राती निधन हुनुभएका नेम्वाङको निधनमा राजकीय सम्मान दिने निर्णय गरेको हो । यस्तै सरकारले नेम्वाङको अन्त्येष्टिको दिन राष्ट्रिय बिदा दिने निर्णय समेत गरेको छ।
बैठकले संविधानसभा अध्यक्षको निधनप्रति दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारजनप्रति सरकारले समवेदना प्रकट गरेको छ ।
संविधान निर्माण प्रक्रियामा उनले गरेको योगदानप्रति सम्मान प्रकट गर्दै सरकारले राष्ट्रिय सम्मान दिने निर्णय गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले जानकारी दिए । मन्त्री किरातीका अनुसार सरकारले उनको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय भएको छ । संविधानसभा अध्यक्ष नेम्वाङको आज बिहान निधन भएको हो । उनका छोराहरू विदेशमा रहेकाले आएपछि मात्र अन्त्येष्टि गरिने भएको छ।







