गोरखाको आरुघाटमा आफ्नै घरमा झुण्ड्याइएको अवस्थामा महिलाको शव फेला

जनता संवाददाता
२०८० भाद्र ३१ गते, आईतवार

काठमाडौँ । गोरखाको आरुघाट गाउँपालिका १ श्यामखेतमा एक महिलाको शव झुण्डिएको अवस्थामा फेला परेको छ । स्थानीय मोहन भट्टराईका अनुसार लनम कान्छीका नामबाट परिचित महिला झुण्डिएको अवस्थामा फेला परेकी हुन् ।

उनले घटनास्थलको अवस्थाअनुसार हत्या भएको हुन सक्ने बताए । उनका अनुसार महिलाको शीरको तल्लो भागमा कपडा छैन । कान पनि च्यातिएको छ । उनले लगाएको गहना चोरी भएको हुनसक्ने सम्भावना छ ।

आरुघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक जयबहादुर थारुले ६९ वर्षीया सुनमाया लामा झुण्डिएको अवस्थामा फेला परेको जानकारी दिए । उनका अनुसार लामा घरमा एक्लै बस्दै आएकी थिइन् । अविवाहित उनका दाजु घरभन्दा टाढा गोठमा रहेको बेला यो घटना भएको हो ।

प्रहरी निरीक्षक थारुले महिलाको दुवै कानमा लगाइएको सुनको बाली लुछिएको हुन सक्ने बताए । उनले शंकास्पद देखिएकाले सोहीअनुसार अनुसन्धान भइरहेको बताए । शव पोस्टमार्टमका लागि आरुघाटस्थित स्वास्थ्य चौकीमा ल्याइएको छ ।

गत चुनावमा एमालेबाट प्रदेशभा उम्मेदवारसमेत रहेका स्थानीय मोहन भट्टराईले गत कात्तिकमा पनि यो स्थानमा एक पुरुषको शव फेला परेको तर हालसम्म पनि उनको पहिचान नभएको बताए । उनका अनुसार मान्बु १ घोरतमा वेवारिसे शव फेला परेको थियो ।

प्रकाशित मिति : २०८० भाद्र ३१ गते, आईतवार


Scroll to Top

Janata Media