काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले व्यास नगरपालिका–३ बीपी वन बाटिका, दमौलीमा निर्माण गरिए जिल्ला सभाहलको शनिबार उद्घाटन गरेका छन् । गृह जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले उद्घाटन गरे ।
सभा हल सङ्घीय सरकारको सहरी विकास मन्त्रालयको सहयोगमा २३ करोड ६२ लाख ४३ हजार ३ सय ३१ रुपियाँ लागतमा डाँफे एमए प्रतिष्ठा जेभी काठमाडौंद्वारा निर्माण गरिएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिए।
‘‘यो हल निर्माणको लागि राष्ट्रपति पौडेलज्यूबाट पहिलेदेखि नै निकै जोडबल गर्नुभएको हो’’, जिसस प्रमुख वाग्लेले भन्नुभयो, ‘‘राष्ट्रपति पौडेलज्यूबाटै उद्घाटन गर्न पाउँदा हामीलाई निकै खुशी लागेको छ ।’’
राष्ट्रपतिलाई गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे, सङ्घीय सरकारका सहरी विकास मन्त्री सीता गुरुङ, प्रतिनिधि सभा सदस्य शङ्कर भण्डारी, प्रदीप पौडेल, गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीतप्रकाश आले, जिसस प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लगायतले स्वागत गरेका थिए ।
यसअघि राष्ट्रपति पौडेलले व्यास नगरपालिका–३ स्थित बिपी पार्कको उद्घाटन गरेका हुन् । राष्ट्रपतिले उद्घाटन गरेका बीपी पार्क र बीपीको सालिक गण्डकी प्रदेश सरकारको १० लाख र पाँच लाख रुपियाँ विभिन्न सङ्घसस्था तथा व्यक्तिबाट चन्दा सङ्कलन गरी निर्माण गरिएको पार्क संरक्षण समितिका अध्यक्ष सूर्यचन्द्र हड्खलेले जानकारी दिए ।
गृह जिल्ला भ्रमणको क्रममा राष्ट्रपति पौडेलले भानु नगरपालिका–१३ मिर्लुङस्थित भयरस्थान देवता मन्दिरको पूर्जाअर्चना गरेका थिए ।







