रविले शुक्रबार संसदीय छानबिन विशेष समितिमा बयान दिने

जनता संवाददाता
२०८१ भाद्र ५ गते, बुधबार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले शुक्रबार सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिमा बयान दिने भएका छन्।

गोरखा मिडिया नेटवर्कमा रहँदा सहकारीको रकम हिनामिनामा संलग्न भएको आरोप लागेका उनलाई संसदीय छानबिन समितिले बयानका लागि बोलाएको थियो।

बुधबार बसेको रास्वपाको केन्द्रीय समिति बैठकमा सभापति लामिछानेले आफूलाई भदौ सात गतेको बैठकमा बोलाएको जानकारी दिँदै बयानका लागि तयार रहेको बताए।

प्रतिवेदन लेखनको अन्तिम तयारीमा रहेको समितिले विभिन्न व्यक्तिहरुसँग बयान लिइरहेको छ। एमाले नेता सूर्य थापाको नेतृत्वमा रहेको समितिले बयान लिन रास्वपाका सहमहामन्त्री विपिन आचार्यलाई पनि बोलाएको थियो।

उनी ग्यालेक्सी फोरके टिभी खुल्दा गोरखा मिडिया नेटवर्कमा आबद्ध थिए। यस्तै समितिले सोही मिडिया नेटवर्क आबद्ध कुमार रम्तेलसँग पनि बयान लिइसकेको छ।

प्रकाशित मिति : २०८१ भाद्र ५ गते, बुधबार


Scroll to Top

Janata Media