कैद माफी विरुद्ध राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन, ११ जना गिरफ्तार

जनता संवाददाता
२०८० आश्विन २३ गते, मंगलवार

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले सोमबार (आज) राष्ट्रपति कार्यालय शीतल निवास अगाडि विरोध प्रदर्शन गरेको छ।

संविधानको धारा २७६ मा निहित राष्ट्रपतिले सजाय माफी गर्न सक्ने अधिकारको दुरुपयोग रोक्न र कैद माफी गर्दा तलदेखि माथिसम्म भएको संभावित आर्थिक चलखेलबारे गहिरो छानविन गर्न माग गर्दै प्रदर्शन गरेको हो।

विरोध प्रदर्शनका सहभागीहरुले ‘राष्ट्रपति महोदयः न्यायको सार्वभौम मान्यता विपरीत माफी मिनाहाको घोषणा किनरु, लोकतान्त्रिक गणतन्त्रप्रति आस्था बढाउने कि वितृष्णा फैलाउनेरु, कैद माफी मिनाहाको नाममा राज्यबाट भइरहेको अपराधको पर्दाफास गरौँ, हत्या हिंसा महिमामंडन गर्न पाइदैँन, हत्या लगायत जघन्य अपराधमा कैद माफी मिनाहा हुन सक्दैन’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

प्रदर्शनका क्रममा प्रहरीले शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति रामकृष्ण बराल, सल्लाहकार उत्तम पुडासैनी, महासचिव रेनुका पौडेल, कोषाध्यक्ष किरण ढकाल, सचिव चन्द्रमणी बञ्जारा, केन्द्रीय सदस्य दिवाकर पुडासैनी, काठमाडौँ शाखा सभापति भगवान पुडासैनी, अधिकारकर्मीहरु रिता अधिकारी, मधु पुडासैनी, लक्ष्मण पुडासैनीसहित ११ जनालाई गिरफ्तार गरि प्रहरी वृत्त महाराजगन्जमामा राखेको छ। समाजले अर्को विरोध प्रदर्शन प्रधानमन्त्री कार्यालय सिंहदरबार (दक्षिण गेट) अगाडि असोज २६ गते गर्ने जानकारी दिएको छ।

समाजद्वारा जारी विज्ञप्ति अनुसार यसैगरी शान्ति समाजले कुशासन र दण्डहीनता विरुद्ध केन्द्रित रही असोज २१ गते देखि देशव्यापी अभियान प्रारम्भ गरेको हो। यस क्रममा शान्ति समाजका पाल्पा, चितवन, दाङ, महोत्तरी, नवलपुर, शाखाले असोज २१ गते दाङ र सुर्खेत शाखाले २२ गते जिल्ला प्रशासन कार्यालय अगाडि आधा घण्टा प्रदर्शन गर्नुका साथै प्रधानमन्त्रीलाई लेखिएको १० बुँदे ज्ञापन पत्र, प्रमुख जिल्ला अधिकारीलाई हस्तान्तरण गरेका छन्।

प्रदर्शनमा ‘महंगीले ढाड भाच्यो, नागरिकलाई राहत खोइ ?, अतिवादले क्षति मात्र गर्छ, ललिता निवास जग्गा घोटालामा अदालतको आदेश अनुरुप छानविन किन नगरेको ? सुन काण्डका नाइकेमाथि कारबाही खोइरु, नेपालको पहिचान शान्ति र अहिंसा हुनुपर्छ, सद्भाव र सहिष्णुता प्रवर्द्धन गरौँ, संक्रमणकालीन न्याय सम्बन्धी ऐनलाई मानव अधिकारमैत्री बनाऊ, पीडितलाई न्याय र पिडकलाई सजाय सुनिश्चित गर, हिंसा र आपराधिकरणलाई बढावा दिने काम बन्द गर, फागुन १ गते “जनयुद्ध दिवस” का नाममा बिदा दिने निर्णय शीघ्र खारेज गर’ लेखिएका प्लेकार्डहरु प्रदर्शन गरेका थिए।

प्रकाशित मिति : २०८० आश्विन २३ गते, मंगलवार


Scroll to Top

Janata Media